नयाँ दिल्ली: अर्जेन्टिनाका महान फुटबल खेलाडी लियोनल मेस्सीसँग ‘गोट इंडिया टूर’का क्रममा भेट हुनु पूर्व भारतीय कप्तान सुनील क्षेत्रीका लागि सपनाजस्तै अनुभव बनेको छ। क्षेत्रीले मेस्सीसँगको भेटलाई “सपना र कर्तव्य दुवै” भएको बताएका छन्। चोटका कारण कार्यक्रममा सहभागी हुन नसक्ने अवस्था आए पनि उनी अन्ततः मुम्बई पुगे।
हालै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका क्षेत्री ९५ अन्तर्राष्ट्रिय गोलसहित इतिहासका चौथो सर्वाधिक गोलकर्ता हुन्। ११५ गोलसहित मेस्सी भने दोस्रो स्थानमा छन्। विश्वकप विजेता कप्तान मेस्सीको भारत भ्रमणको तेस्रो चरणका क्रममा आइतबार मुम्बईमा दुवै भेटिएका हुन्।
क्षेत्रीले सामाजिक सञ्जालमा लेख्दै मेस्सीको फुटबल कलाले आफू दुःखी हुँदा औषधिको काम गर्ने बताए। चोटका कारण लंगडिँदै हिँड्नुपरेको र मैदानभन्दा बढी समय फिजियो टेबलमै बिताउनुपरेको अनुभव उनले साझा गरेका छन्। यद्यपि, मेस्सीलाई भेट्ने चाहनाले उनलाई मुम्बई जान बाध्य बनायो।
भेटका क्रममा मेस्सीले क्षेत्रीसँग समय बिताए र अर्जेन्टिना टोलीको जर्सी उपहार दिए। साथै, क्षेत्रीले लुइस सुआरेज र रोड्रिगो डि पॉलसँग भेटेर पनि खुसी व्यक्त गरे। उनले सुआरेजसँग फोटो खिच्न पाउँदा बालकजस्तै उत्साहित भएको र अर्को विश्वकप विजेता डि पॉलसँग भेट हुनु विशेष क्षण भएको बताए।










