गाजा : अन्तिम इजरायली बन्धकको अवशेष फेला

Gaja

गाजामा अन्तिम इजरायली बन्धकको अवशेष फेला परेको छ।

इजरायल रक्षा बलले जारी गरेको विज्ञप्तिमा मृतक प्रहरी अधिकारी रान ग्भिलीको शव बरामद गरेर परिवारलाई जानकारी गराइएको उल्लेख छ।

इजरायली प्रहरी, सैन्य रब्बीनेट तथा राष्ट्रिय फोरेन्सिक मेडिसिन संस्थानको सहयोगमा अवशेषको पहिचान पुष्टि भएको हो।

२४ वर्षीय रान ग्भिली इजरायली प्रहरीको विशेष बलमा प्रथम श्रेणीका सार्जेन्ट थिए। उनी २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा किबुट्ज अलुमिममा घाइते अवस्थामा लडाइँमा सामेल भएका थिए र त्यहीँ मारिएका थिए। उनको शव प्यालेस्टिनियन इस्लामिक जिहादका लडाकूले गाजा लगेका थिए।

उनको अवशेष फेला परेको घोषणा उत्तरी गाजाको चिहानमा ठूलो स्तरको अपरेशन गरेको एक दिनपछि सोमबार आएको हो। यो अपरेशन गुप्तचर सूचनाका आधारमा चलाइएको थियो, जसमा दन्त विशेषज्ञसहितको टोलीले पहिचान गरेको थियो।

यो खोजले गाजामा राखिएको अन्तिम बन्धक (मृत) को फिर्तीलाई पूरा गरेको छ। यससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनाको पहिलो चरणको प्रमुख सर्त पूरा भएको छ। उक्त योजनाअनुसार पहिलो चरणमा सबै जीवित तथा मृत बन्धक (कुल २५१ मध्ये १६८ जीवित र ८७ मृत) फिर्ता भएका छन्।

रान ग्भिलीको परिवारले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई अवशेष नभेटिएसम्म दोस्रो चरणमा नजान आग्रह गरेका थिए। नेतान्याहूले यसलाई ‘अविश्वसनीय उपलब्धि’ भनेका छन्। उनले भने, ‘मैले सबैलाई घर ल्याउने वाचा गरेको थिएँ र हामीले सबैलाई घर ल्याएका छौं’।

हमासले पनि शान्ति सम्झौताको पालनामा जोड दिएको छ।

हमासका प्रवक्ता हाजेम कासेमले भने, ‘गाजामा अन्तिम इजरायली कैदीको शव फेला परेको कुराले गाजा पट्टीमा युद्धविराम सम्झौताका सबै आवश्यकताहरूप्रति हमासको प्रतिबद्धता पुष्टि गर्दछ, जसमा कैदी आदानप्रदान प्रक्रिया र सम्झौतामा उल्लेख गरिए अनुसार यसको पूर्ण बन्दोबस्त समावेश छ।’

उनले थपे, ‘आन्दोलनले सम्झौताका सबै पक्षहरूको पालना गरिरहनेछ, जसमा गाजाको प्रशासनको लागि राष्ट्रिय समितिको कामलाई सहज बनाउने र यसको सफलता सुनिश्चित गर्ने समावेश छ।’

खोज हुनुभन्दा अगाडि इजरायली अधिकारीले ‘धेरै गुप्तचर सुराग’ रहेको बताएका थिए।

नेतान्याहूको कार्यालयले सोमबार दिएको जानकारी अनुसार खोजी सम्पन्न भएपछि गाजा र इजिप्टबिचको रफाह नाका सीमित रूपमा (मानिसको आवतजावतका लागि मात्र, इजरायली जाँचपछि) खोलिने छ। तर कहिले खुल्छ भन्नेमा तत्काल स्पष्ट जवाफ छैन।

रान ग्भिलीको शव अब परिवारलाई फिर्ता पठाइनेछ। – एजेन्सीको सहयोगमा

About Author

Advertisement