मुम्बई: नजिकिँदै गरेको गणतन्त्र दिवसको अवसरमा देशभक्तिको भावना गीतमार्फत् झन् प्रखर बनेको छ। ‘ब्याटल अफ गलवान’ चलचित्रको ‘मातृभूमि’ गीतमा अरिजित सिंहले आफ्नो स्वर दिएर देशप्रेमको सन्देश फैलाएका छन्। गीतको दृश्यांकनमा सलमान खान देखिएका छन्। उनले मातृभूमिका लागि बाँच्ने, आवश्यकता परे देशका लागि प्राण पनि अर्पण गर्ने संकल्प व्यक्त गरेका छन्।
देशभक्तिले भरिएको यो गीत सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा भाइरल बनेको छ। छोटो समयमै यसको भ्यु तीव्र गतिमा बढिरहेको छ। सुरुबाटै सलमान खानको एक्सनप्रधान चलचित्र ‘ब्याटल अफ गलवान’लाई लिएर दर्शकमाझ ठूलो उत्साह देखिएको छ। किन नहोस् त? यो चलचित्र सन् २०२० मा गलवान उपत्यकामा भएको भारत–चीन सैन्य संघर्षको पृष्ठभूमिमा आधारित छ। चलचित्रमा सलमान खानले कर्नेल बिकुमल्ला सन्तोष बाबुको भूमिका निभाएका छन्।
सैनिकको भूमिकामा देखिनका लागि सलमान खानले कडा तयारी गरेका थिए। सुटिङ सुरु हुनुअघि उनले नियमित रूपमा प्रेसर चेम्बरमा अभ्यास गरे, साथै दैनिक खानपानमा पनि परिवर्तन ल्याएका थिए।
नयाँ अवतारमा सलमान खानलाई ठूलो पर्दामा हेर्न दर्शकहरू आतुर छन्। उनले भारतीय सेनाको नेतृत्व गर्ने पात्रको भूमिका निर्वाह गरेका छन्। गत २७ डिसेम्बरमा आफ्नो जन्मदिनको अवसरमा सलमान खानले बहुप्रतिक्षित देशभक्तिपूर्ण चलचित्र ‘ब्याटल अफ गलवान’को टिजर सार्वजनिक गरेका थिए। तर निर्देशक अपूर्व लाखियाको यो टिजरलाई लिएर विवाद पनि कम भएन।
वास्तविक गलवान संघर्षमा भारतीय सेनासँग चिनियाँ सेनाले कडा हार बेहोरेको तथ्य चलचित्रमा देखाइएको भन्दै बेइजिङ आक्रोशित भयो। चीनको दाबी अनुसार, “भारतले विकृत तथ्य प्रस्तुत गरेर राष्ट्रियतावादलाई उक्साउने र चिनियाँ सेनालाई बदनाम गर्ने प्रयास गरिरहेको छ।” चिनियाँ सञ्चारमाध्यमहरूले समेत ‘ब्याटल अफ गलवान’लाई भारतको राष्ट्रियतावादी उक्साहटको ‘हथियार’ भन्दै आलोचना गरेका छन्। यसैबीच, चलचित्रको नयाँ गीतले फेरि एकपटक व्यापक चर्चा र प्रतिक्रिया पाएको छ।










