कामाख्यागुडी: कुमारग्राम ब्लकअन्तर्गत खोयारडांगा क्षेत्रमा एक कानुनी सचेतना शिविरको आयोजना गरिएको थियो। अलीपुरद्वार जिल्ला कानुनी सेवा प्राधिकरणको व्यवस्थापनमा खोयारडांगा–२ नम्बर ग्राम पञ्चायत कार्यालयमा उक्त शिविर सम्पन्न भयो। यस अवसरमा रिटेनर जज भास्कर राय, रिटेनर जज भास्कर दे, खोयारडांगा–२ नम्बर ग्राम पञ्चायतकी प्रधान चन्दना दास (राय) लगायत अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए।
यस दिन आयोजित शिविरमा क्षेत्रका स्वयं सहायता समूहकी महिलाहरूका समक्ष कानुनी सेवासम्बन्धी विभिन्न विषयमा छलफल गरिएको थियो। सर्वसाधारणले कसरी र कहाँ कानुनी सेवा प्राप्त गर्न सक्छन्, को–को निःशुल्क कानुनी सेवाका हकदार हुन्, साथै निःशुल्क कानुनी सेवाका लागि कहाँ र कसरी आवेदन दिनुपर्ने भन्ने विषयमा शिविरमा विस्तृत रूपमा जानकारी दिइयो।









