खजुरको गुडको सुवासमा बेरिएको हराउँदै गएको एउटा संस्कृति

palm-tree-441-20221123090912

बेबी चक्रवर्ती

जाडोको बिहान, कुहिरोले भिजेको आँगन। टाढा खजुरको रूखको टुप्पोमा मट्का झुण्डिएको छ, त्यसको तल बिस्तारै नयाँ गुड जम्दैछ। घरभित्रबाट चामल भिजाउने आवाज आइरहेको छ, ढेंकीको ठक–ठक सुनिन्छ। कुनै समय यही दृश्य ग्रामीण बंगालमा पौष संक्रान्तिको सबैभन्दा परिचित तस्बिर हुन्थ्यो। पिठे–पुली त्यतिबेला केवल खाना मात्र थिएनन्—ती उत्सव थिए, सम्बन्ध थिए, पुस्तौँ–पुस्तासम्म बगिरहने एउटा अदृश्य डोरी थिए।
भारतीय उपमहाद्वीपमा पिठे खाने परम्परा अत्यन्त प्राचीन छ। ‘पिठा’ शब्द संस्कृतको ‘पिष्टक’ बाट आएको हो, र ‘पिष्टक’ शब्द ‘पिष्’ धातुबाट बनेको ‘पिष्ट’ बाट, जसको अर्थ पिसिएको, मर्दित, दलित हो। हरिचरण बन्द्योपाध्यायले बंगीय शब्दकोश मा लेखेका छन् कि पिठा चामलको पिठो, दालको पेस्ट, गुड, नरिवल आदिको मिश्रणबाट बनेको विशेष मिठाई हो। हाम्रो प्रमुख खाद्यान्न धान हो; धानबाट चामल र चामलको पिठोबाट पिठा बन्छ।
भारतीय सभ्यताको सन्दर्भमा बंगाली खाद्य–संस्कृतिमा पिठेको महत्वबारे कुनै निश्चित ऐतिहासिक विवरण भेटिँदैन, तर संस्कृत साहित्यमा ‘पिष्टक’ को उल्लेख अवश्य पाइन्छ। बंगला भाषामा रचित कृतिवासी रामायण, अन्नदामंगल, धर्ममंगल, मनसामंगल, चैतन्यचरितामृत जस्ता काव्यहरू तथा मयमनसिंह गीति को ‘काजल रेखा’ कथामा लोकप्रिय भोजनका रूपमा पिठेको उल्लेख पाइन्छ। यी ग्रन्थहरू अधिकतम पाँच सय वर्ष पुराना हुन्। तर प्राचीन पुस्तकहरूमा पिठा बनाउने र खाने कुरा उल्लेख भएकाले बंगालमा पिठा बनाउने इतिहास हजार वर्षभन्दा पनि पुरानो भएको अनुमान गर्न सकिन्छ।
बंगालका पिठाहरूको इतिहास विभिन्न धार्मिक र सामाजिक उत्सवहरूसँग गहिरो रूपमा जोडिएको छ—जस्तै नवान्न, पौष संक्रान्ति, चैत्र संक्रान्ति, बैसाखी, ईद, शारदीय दुर्गापूजा आदि। पिठा बनाउने र खाने संस्कृतिले बंगालीहरूलाई यस्तो सांस्कृतिक उचाइमा पुर्‍याएको छ कि युगौँ–युगका कवि–साहित्यकारहरूको कलममा यो बारम्बार झल्किएको छ। पिठेलाई केन्द्रमा राखेर ‘पल्लीस्मृति’ कवितामा प्रसिद्ध कवयित्री बेगम सूफिया कमाल लेख्छिन्-
“पौष पर्वमा पिठा खाँदै बस्दा खुशीमा बेस्सरी खाइयो,
आमाको डाँट पाएपछि मनमा झन् उल्लास बढ्यो।”
त्यसैगरी ‘पौष–पर्वण’ कवितामा ईश्वरचन्द्र गुप्त लेख्छन्-
“आलु, तिल, गुड, खीर, नरिवल र अरू पनि,
असंख्य प्रकारका पिठे–पुली बनिन्छन्।
घर–घर निमन्त्रण, कुटुम्बको मेला—
हाय हाय देशाचार, धन्य छ तेरो खेल।”
जाडो भनेको फरक किसिमको आनन्द हो- ढिलो, स्थिर समय र सम्झनाका तहहरू खोलिदिने सुनौलो मौसम। कुहिरोको चादरले ढाकिएको बिहान, खजुरको रसका मटका झुण्डिएका रूखहरू, आँगनमा बलिरहेको आगो र त्यसको छेउमा बसेर पिठा बनाउने व्यस्तता, यही दृश्य कहिल्यै ग्रामीण बंगालको अभिन्न हिस्सा थियो। जाडोले केवल चिसो हावा र सुक्खा पातहरूको सरसराहट मात्र ल्याउँदैनथ्यो, उसले उत्सव, सामाजिकता र पारिवारिक मिलन पनि साथ ल्याउँथ्यो। पिठे–पुली जाडोको त्यही भाषा थिए, जसका माध्यमबाट सनातन ग्रामीण बंगालले आफ्नो सांस्कृतिक पहिचान व्यक्त गर्थ्यो। सम्बन्धहरू झन् मजबुत हुन्थे र संस्कृतिको निरन्तरता पुस्तौँ–पुस्तासम्म बगिरहन्थ्यो।
पाटिसापटा, भापा पिठा, दूधपुली, चितई वा पोआ पिठा, हरेक नामसँग आमाको हातको न्यानोपन, हजुरआमाको अनुभव र परिवारसँगै बसेर बिताएको खुसी जोडिएको छ। पौष संक्रान्ति भनेको नै घर–घरबाट उठ्ने पिठाको बाफ र सुवास थियो। तर समय बदलिएको छ, ग्रामीण बंगालको तस्बिर पनि बदलिएको छ। आज न ढेंकीको आवाज सुनिन्छ, न आँगनमा बसेर पिठा बनाउने दृश्य सामान्य छ। संयुक्त परिवारहरू टुटेर एकल परिवारको व्यस्त जीवनमा परिणत भएका छन्, जहाँ पिठा बनाउने धैर्य र समय—दुवै हराउँदै गएका छन्। सहरमुखी जीवनले गाउँहरू खाली पारेको छ र धेरै लोकपरम्पराहरू पनि।
पिठा संस्कृति र परम्पराको एक संवाहक हो, तर शहरीकरणको प्रभावले यो बिस्तारै लोप हुने दिशामा अघि बढिरहेको छ। शहरी संस्कृतिको दबाबमा हराउँदै गएका पिठाहरूलाई नयाँ पुस्तासँग चिनाउन अब सहरका पसलहरूमा फास्ट–फुडझैँ पिठा पाइन्छ। तर पनि कतै न कतै यसको वास्तविक स्वाद हराएको छ। आज पिठे–पुली पसलमा सजिलै पाइन्छ, तर घरमा बनेको पिठाको त्यो स्वाद र भाव त्यहाँ भेटिँदैन। रासायनिक सामग्री, तयार पिठो र सुरक्षित गुडको प्रयोगले स्वादको गहिराइ घटेको छ र पिठा बनाउनेसँग जोडिएको पारिवारिक आनन्द र सामाजिकता पनि हराएको छ। ग्रामीण बंगालका धेरै क्षेत्रमा ढेंकी लगभग विलुप्त भइसकेको छ; नयाँ पुस्ताका धेरैलाई पिठा बनाउने परम्परागत विधि थाहा नै छैन।


संस्कृतिविद्हरूका अनुसार, पिठे–पुली ग्रामीण बंगालको लोकसंस्कृतिको एक मौन दस्तावेज हुन्। यो केवल रेसिपी होइन, एउटा सामाजिक अभ्यास हो। नवान्न, पौष संक्रान्ति वा पारिवारिक समारोहमा पिठा आतिथ्यको प्रतीक थियो। आज त्यस स्थानमा फास्ट–फुड र तयार मिठाइहरूले कब्जा जमाएका छन्।
तथापि आशाको ज्योति पूरै निभेको छैन। केही गाउँहरूमा आज पनि वृद्ध महिलाहरू नयाँ पुस्तालाई पिठा बनाउन सिकाइरहेका छन्। विभिन्न पिठा उत्सव, ग्रामीण हाट र स्वयं–सहायता समूहहरूको पहलले यो हराउँदै गएको परम्परा फेरि फर्कने प्रयास गरिरहेको छ। सहरका मानिसहरू पनि आज नस्टाल्जियाको तानमा पिठा उत्सवतर्फ आकर्षित भइरहेका छन्।
प्रश्न एउटै छ- के हामी केवल पसलका पिठामै सन्तुष्ट रहनेछौँ, कि घरको कुनै कुनामा फेरि ढेंकीको आवाज, गुडको सुवास र पारिवारिक मिलनका ती न्यानो क्षणहरू फर्काउनेछौँ? यदि उत्तर दोस्रो हो भने, अझै ढिला भएको छैन। नत्र भने एक दिन पिठे–पुली केवल सम्झनाका पानामा सीमित हुनेछ, एउटा मिठो इतिहास बनेर।

About Author

Advertisement