क्याप अध्यक्ष राईद्वारा भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना

20251130_224447

गान्ताेक: सिटिजन एक्सन पार्टी (क्याप) का अध्यक्ष गणेश कुमार राईले भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा सबै नागरिकहरू, विशेषगरी सिक्किमका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन्।
आज जारी सन्देशमा अध्यक्ष राईले भने, “गणतन्त्र दिवसले हाम्रो राष्ट्रिय जीवनमा पवित्र र प्रेरणादायी स्थान ओगटेको छ। २६ नोभेम्बर १९४९ मा भारतको संविधान औपचारिक रूपमा स्वीकृत भयो र २६ जनवरी १९५० मा लागू भई भारत एक सार्वभौम, समाजवादी, धर्मनिरपेक्ष र लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भयो। आज हामी ती स्वतन्त्रता सेनानी, दूरदर्शी चिन्तक र राष्ट्रिय नेताहरूप्रति गहिरो सम्मान व्यक्त गर्दछौँ जसका त्याग र बलिदानले हाम्रो स्वतन्त्रता, एकता र लोकतन्त्रको आधार तयार पारे।”
उनले संविधान मस्यौदा समितिका अध्यक्ष डा. भीमराव अम्बेडकरप्रति उच्च श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभयो, “उहाँको बुद्धिमत्ता, साहस र सामाजिक न्यायप्रतिको अडिग प्रतिबद्धताले हाम्रो राष्ट्रको संवैधानिक संरचनालाई आकार दियो। संविधान सभाका सदस्यहरू र विभिन्न समिताहरूको अमूल्य योगदानलाई पनि हामी सम्मानपूर्वक स्मरण गर्दछौँ।”
अध्यक्ष राईले संविधानलाई केवल कानुनी दस्तावेज मात्र नभई हाम्रो गणतन्त्रको नैतिक दिशानिर्देशक र चेतना भएको उल्लेख गर्दै यसले प्रत्येक नागरिकलाई न्याय, स्वतन्त्रता, समानता र भ्रातृत्वको प्रत्याभूति दिने बताए। साथै, यसले नागरिकलाई जिम्मेवार, संस्थाप्रतिको सम्मान र लोकतान्त्रिक मूल्यहरूलाई सुदृढ बनाउने प्रेरणा पनि दिने बताइयो।
उनले सशस्त्र बल, अर्धसैनिक बल तथा सुरक्षा कर्मीहरूको वीरता, साहस र समर्पणप्रति विशेष कृतज्ञता व्यक्त गर्दै भने, “उनीहरूको बलिदानले हाम्रो राष्ट्रको सुरक्षा, सार्वभौमिकता र अखण्डता सुनिश्चित गरेको छ।”

About Author

Advertisement