कोलकाता: कोलकाता प्रेस क्लबको सहकार्यमा आयोजित क्यान्सर सचेतना सम्बन्धी स्वास्थ्य छलफल सभामा आनन्दपुरस्थित फोर्टिस अस्पतालका वरिष्ठ क्यान्सर विशेषज्ञहरूले प्रारम्भिक रोग–पहिचानले क्यान्सरको उपचार सम्भावना र बिरामीको जीवनस्तरमा कसरी उल्लेखनीय सुधार ल्याउँछ भन्ने कुरा स्पष्ट पारे। यस कार्यक्रममा ५० भन्दा बढी सञ्चारकर्मीहरूको उपस्थिति थियो। कार्यक्रमको उद्देश्य प्रारम्भिक पहिचान, रोकथाम तथा क्यान्सर उपचार क्षेत्रमा चिकित्सा विज्ञानले हासिल गरेका प्रगतिबारे सर्वसाधारणलाई सचेत गराउनु थियो। यस सत्रमा सक्रिय सहभागिता देखियो, जसले समयसापेक्ष र तथ्यमा आधारित क्यान्सर हेरचाहको बढ्दो आवश्यकतालाई अझ सशक्त रूपमा उजागर गर्यो।
छलफलका क्रममा क्यान्सरका प्रारम्भिक चेतावनी संकेतहरूको पहिचान, नियमित स्क्रिनिङको भूमिका, जीवनशैलीमा परिवर्तन तथा क्यान्सर नियन्त्रणमा बहु–विषयक (मल्टी–डिसिप्लिनरी) दृष्टिकोणको महत्वबारे प्रकाश पारियो। विभिन्न अध्ययनहरूले कोलकातामा क्यान्सरका घटनाहरू बढ्दै गएको देखाएका छन्, जसमा मुख्य रूपमा टाउको तथा घाँटी, स्तन, गर्भाशय ग्रीवा र प्रोस्टेट क्यान्सर समावेश छन्। साथै, पुरुषहरूमा तम्बाकू सेवनका कारण मुख र फोक्सोको क्यान्सर पनि व्यापक रूपमा देखिएको छ। महिलाहरूका लागि स्तन र गर्भाशय ग्रीवाको क्यान्सर प्रमुख चिन्ताको विषय बनेको छ, जुन प्रायः ढिलो रोग–पहिचान र विशेष गरी ग्रामीण क्षेत्रमा सचेतनाको अभावसँग सम्बन्धित छ।
यस सत्रको सञ्चालन आनन्दपुरस्थित फोर्टिस अस्पतालका प्रतिष्ठित विशेषज्ञहरूको टोलीले गरेको थियो, जसमा डा. देबप्रिय मण्डल (परामर्शदाता, मेडिकल अनकोलोजी), डा. सुजाता दत्त (वरिष्ठ परामर्शदाता, प्रसूति तथा स्त्रीरोग) र डा. श्रीनिवास नारायण (निर्देशक, अनको–युरोलोजी) सहभागी थिए।
कार्यक्रममा फोर्टिस हेल्थकेयरकी एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट, चिफ अफ स्ट्राटेजी, ग्रुप हेड–ईएसजी तथा जयपुर र कोलकाताकी बिजनेस हेड श्रीमती रिचा एस. देवगुप्ताले भनिन्, “फोर्टिसमा हामी दृढ रूपमा विश्वास गर्छौँ कि सचेत समुदायले नै राम्रो स्वास्थ्य परिणामतर्फ डो¥याउँछ। सञ्चारमाध्यमसँग प्रत्यक्ष रूपमा जोडिएर हामी चिकित्सा विशेषज्ञहरूको ज्ञान र सर्वसाधारणको बुझाइबीचको दूरी घटाउन चाहन्छौँ, ताकि सही, समयोचित र जिम्मेवार स्वास्थ्य जानकारी हरेक परिवारसम्म पुग्न सकोस्।”
फोर्टिस अस्पताल, आनन्दपुरका फ्यासिलिटी डाइरेक्टर आशिस मुखर्जीले भने, “क्यान्सर सचेतना भनेको केवल जानकारी बाँड्नु मात्र होइन, यसले मानिसहरूलाई समयमै कदम चाल्न सशक्त बनाउँछ। कोलकाता जस्तो सहरमा, जहाँ टाउको तथा घाँटी, स्तन र गर्भाशय ग्रीवाको क्यान्सर अत्यधिक प्रचलित छन्, त्यहाँ समयमै स्क्रिनिङ, जीवनशैलीमा परिवर्तन र प्रारम्भिक उपचार सुरु गरेमा अनगिन्ती जीवन जोगाउन सकिन्छ। कोलकाता प्रेस क्लबसँगको यस्तो सहकार्यमार्फत हामी सचेतना बढाउन, भ्रान्तिहरू हटाउन र सही समयमा सही स्वास्थ्य सन्देश सबैसम्म पुर्याउने प्रयास गरिरहेका छौँ।”











