कोशी-पाथीभरा इन्डो–नेपाल टी-२० को उपाधि भद्रपुरलाई

IMG-20260212-WA0100

झापा(नेपाल): झापाको भद्रपुरमा पहिलोपटक आयोजित कोशी–पाथीभरा इन्डो–नेपाल टी–२० च्याम्पियनसिपको उपाधि आयोजक भद्रपुर क्रिकेट क्लबले जितेको छ। बिहीबार सम्पन्न फाइनलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लब, आसामलाई ४ विकेटले पराजित गर्दै भद्रपुरले उपाधि उचालेको हो।
उपाधिसँगै भद्रपुरले नगद ५ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता आसामले ३ लाख रुपैयाँमा चित्त बुझायो।
भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर भद्रपुरले पहिले फिल्डिङ रोजेको थियो। ब्याटिङमा उत्रिएको आसाम १७.३ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो। रोहित सेनले १५ बलमा २४ रन बनाए भने कप्तान निबिर डेकाले १५ र मोहम्मद हबिबुल्लाहले १२ रन जोडे। अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्। भद्रपुरका भुवन कार्की र विपिनकुमार महतोले समान ३–३ विकेट लिए। सिद्धार्थ कुमाल, दीपक बोहोरा र दिनेश अधिकारीले एक–एक विकेट हात पारे।
९० रनको लक्ष्य पछ्याएको भद्रपुरको सुरुआत पनि कमजोर रह्यो। ३० रनमै ५ विकेट गुमाएको अवस्थामा भुवन कार्की र मुहमद आदिल आलमले पारी सम्हाले। दुवैले महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्‍याए। आदिलले सर्वाधिक ३९ रन बनाए। अन्त्यमा भुवन कार्की र श्रवण यादव अविजित रहँदै टोलीलाई जित दिलाए।
खेलको ‘म्यान अफ द म्याच’ भुवन कार्की घोषित भए। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा बेस्ट फिल्डर भुवन कार्की, इमर्जिङ प्लेयर आसामका निबिर डेका र बेस्ट ब्याटर लखनउका रमन कादयान घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गरे। प्लेयर अफ द टुर्नामेन्ट गोकुल शर्मा भए। उनले ५१ हजार रुपैयाँ पुरस्कार पाए।
समापन समारोहमा कोशी प्रदेशका पूर्वमन्त्री उद्धव थापा, प्रदेशसभा सदस्य छविलाल चुडाल, भद्रपुर नगरप्रमुख गणेश पोखरेल लगायतले पुरस्कार वितरण गरेका थिए। माघ २१ गतेदेखि सुरु भएको प्रतियोगिता कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षसँग जोडेर आयोजना गरिएको थियो।

About Author

Advertisement