केएफसी–पिज्जा हटका प्रमुख सञ्चालकबीच विलय, ३ हजारभन्दा बढी स्टोरसहित विशाल फास्ट–फुड सञ्जाल बन्ने

FB_IMG_1767346685498

नयाँ दिल्ली: केएफसी र पिज्जा हट ब्रान्डका प्रमुख फ्रेन्चाइज सञ्चालक सफायर फुड्स इन्डिया लिमिटेड (एसएफआईएल) र देवयानी इन्टरनेशनल लिमिटेड (डीआईएल) बीच विलय हुने भएको छ। यस विलयपछि ३ हजारभन्दा बढी स्टोर भएको एक विशाल फास्ट–फुड सञ्जाल खडा हुनेछ, जसको संयुक्त कारोबार करिब ८ हजार करोड रुपैयाँ रहनेछ।
यम! ब्रान्ड्सका प्रमुख फ्रेन्चाइज सञ्चालक डीआईएल र एसएफआईएलका निर्देशक मण्डलले बिहीबार बसेको बैठकमा विलयसम्बन्धी व्यवस्था योजनालाई स्वीकृति दिएका हुन्। सम्झौताअनुसार, सफायर फुड्सको विलय जयपुरिया परिवारद्वारा प्रवर्द्धित आरजी कर्पअन्तर्गतको कम्पनी देवयानी इन्टरनेशनलमा गरिनेछ।
संयुक्त कम्पनीले भारत, नाइजेरिया, नेपाल, थाइल्याण्ड र श्रीलङ्का जस्ता बजारमा सञ्चालन गर्नेछ। केएफसी, पिज्जा हट र टाको बेलसँगै कोस्टा कफी, टी–लाइभ, न्युयोर्क फ्राइज र सानुक किचनजस्ता अन्तर्राष्ट्रिय क्विक सर्भिस रेस्टुरेन्ट ब्रान्डका लाइसेन्ससमेत संयुक्त इकाईलाई प्राप्त हुनेछन्।
यो रणनीतिक एकीकरणसँगै केएफसी र पिज्जा हटका लागि एकीकृत ‘यम! इन्डिया फ्रेन्चाइज’ गठन हुनेछ। सम्झौताअनुसार एसएफआईएलका प्रत्येक १०० सेयरको सट्टा डीआईएलका १७७ सेयर जारी गरिनेछ।
हिस्सेदारी संरचनाअनुसार हाल एसएफआईएलका प्रवर्तकसँग २५.३५ प्रतिशत सेयर रहेको छ, जसमध्ये डीआईएल समूहको कम्पनी आर्कटिक इन्टरनेशनलले १८.५ प्रतिशत सेयर खरिद गर्नेछ। बाँकी हिस्सेदारी डीआईएलका सेयरमा रूपान्तरण गरिनेछ। अमेरिकास्थित यम! ब्रान्ड्सले समेत यस विलयलाई स्वीकृति दिएको छ।
डीआईएलका गैर–कार्यकारी अध्यक्ष रवि जयपुरियाले यो विलयले लागत कटौती, एकीकृत प्रविधि प्लेटफर्मको उपयोग र आपूर्ति शृंखला सुदृढीकरणमा सहयोग पुर्‍याउने बताउँदै दीर्घकालीन वृद्धि र सबै सरोकारवालाका लागि मूल्य सिर्जना सुनिश्चित हुने विश्वास व्यक्त गरे।

About Author

Advertisement