कास्की कारागारमा शतप्रतिशत मतदान

IMG-20260305-WA0048

कास्की: कास्की कारागारमा यसपटक शतप्रतिशत मतदान भएको छ। अस्थायी मतदान केन्द्रको रूपमा स्थापना गरिएको कारागारभित्र नामावलीमा सूचीकृत सबै ३७ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
मतदान अधिकृत गोविन्द श्रेष्ठका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया करिब साढे दुई घण्टामै सम्पन्न भएको थियो। कारागारभित्र ३८ जनाको नाम मतदाता नामावलीमा समावेश भए पनि एक जना धरौटीमा छुटेकाले ३७ जनाले मात्रै मतदान गरेका हुन्। तीमध्ये दुई जना महिला कैदीबन्दी रहेको उहाँले मीडियालाई बताए । साथै, चार जना कर्मचारीले पनि मतदान गरेपछि सो केन्द्रमा कुल ४१ मत खसेको श्रेष्ठले जानकारी दिए।
कारागारमा हाल ६ सय ९७ जना कैदीबन्दी रहे पनि निर्वाचन आयोगबाट प्रमाणित भई नामावलीमा समावेश भएका व्यक्तिहरूले मात्र मतदान गर्न पाउने व्यवस्था रहेको छ। प्रदेश निर्वाचन कार्यालयमा आफ्नो विवरण उपलब्ध गराएका र आधिकारिक सूचीमा नाम भएका कैदीबन्दीले मात्रै मत हाल्न पाएका हुन्। यसैबिच, कर्मचारीहरूका लागि जिल्ला समन्वय समिति कास्कीको परिसरमा छुट्टै अस्थायी मतदान केन्द्र सञ्चालन गरिएको छ। उक्त केन्द्रमा कर्मचारीहरूले समानुपातिक तर्फको मत मात्र हालिरहेका छन्। निर्वाचन अधिकृत सरस्वती गिरीका अनुसार कास्कीका करिब ७० प्रतिशत कर्मचारी निर्वाचनमा खटिएका छन् भने सो केन्द्रमार्फत करिब २ हजार ५ सय कर्मचारीले मतदान गर्ने अपेक्षा गरिएको छ।
जिल्लामा निर्वाचन प्रक्रिया सौहार्दपूर्ण र व्यवस्थित रूपमा अघि बढिरहेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले बताए। त्यस्तै, प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेश का प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले पनि प्रदेशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिएका छन्। उनले मीडियासँग कुरा गर्दै निर्वाचन वातावरण शान्त, मर्यादित र उत्साहपूर्ण रहेको बताएका हुन्। कास्की जिल्लाभर दुई अस्थायी मतदान केन्द्रसहित ३ सय ६५ मतदान केन्द्र र १ सय ५३ मतदान स्थल रहेका छन्। बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान समय निर्धारण गरिएको छ। मतदान सम्पन्न भएलगत्तै आजैदेखि मतगणना कार्य सुरु गरिने तयारी गरिएको छ।

About Author

Advertisement