कामाख्यागुड़ी: कुमारग्राम ब्लकअन्तर्गत पर्ने कामाख्यागुड़ीस्थित मरी रायडाक नदीमा निरन्तर रूपमा फोहोर तथा कूड़ा–कचरा फालिँदै आएको छ। यसका कारण मरी रायडाक नदी फोहोरले भरिँदै गएको छ। यस गम्भीर समस्याको समाधान खोज्ने उद्देश्यले शनिबार कामाख्यागुड़ीमा जनप्रतिनिधि तथा व्यवसायीहरूको सहभागितामा कुमारग्राम ब्लकका बीडीओ सन्दीप धाड़ाको अध्यक्षतामा बैठक सम्पन्न भयो।
बैठकबाट फोहोर व्यवस्थापनसम्बन्धी विषयको निगरानी गर्न एक समिति गठन गरिएको छ। साथै बीडीओले कामाख्यागुड़ी बजारको निरीक्षण गर्दै व्यवसायीहरूलाई बजार क्षेत्र सफा–सुग्घर राख्न आग्रह गरे। मरी रायडाक नदीमा कुनै पनि प्रकारको फोहोर नफाल्न व्यवसायीहरूलाई कडा निर्देशन पनि दिइयो।
उक्त अवसरमा बीडीओका साथै कामाख्यागुड़ी-१ ग्राम पञ्चायतकी प्रधान एकादशी दास (राय), कामाख्यागुड़ी–२ ग्राम पञ्चायतकी प्रधान मुनमुन राभा तथा अन्य स्थानीय प्रतिनिधिहरू उपस्थित थिए।
उल्लेखनीय छ कि मरी रायडाक नदीमा फोहोर फालिने गुनासो नयाँ होइन। लामो समयदेखि नदीमा फोहोर हालिँदै आएको आरोप लाग्दै आएको छ। नदीमा पानी नहुँदा फोहोर जम्मा भएर प्रदूषण फैलिरहेको छ। यही समस्याको समाधानका लागि बीडीओले स्थानीय जनप्रतिनिधि र व्यवसायीहरूसँग बैठक गरेका हुन्। यसका साथै बीडीओसहित अन्य सहभागीहरूले मरी रायडाक नदीको निरीक्षण पनि गरे।
बीडीओ सन्दीप धाड़ाले भने, “बजार क्षेत्रको फोहोर व्यवस्थापनको निगरानी गर्न एउटा समिति गठन गरिएको छ। बजारलाई सफा–सुग्घर राख्ने जिम्मेवारी यही समितिले लिनेछ।”










