कांग्रेसको संस्थापन पक्षले निर्वाचनलगत्तै राष्ट्रिय भेलाको आयोजना गर्ने

Nepali Congress

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन (देउवा-खड्का) पक्षले राष्ट्रिय सभाको निर्वाचन लगत्तै राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। विशेष महाधिवेशनबाट कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएपछि कांग्रेसको तत्कालीन संस्थापन पक्षले राष्ट्रिय भेला आयोजना गर्न लागेको हो।

पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, पूर्व राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको भेला आयोजना गर्ने एक केन्द्रीय सदस्यले जानकारी जानकारी दिए। भेलाबाट समय सापेक्ष रुपमा आवश्यक निर्णय लिइने तयारी छ।

नेपाली कांग्रेसको नीति सिद्धान्त र आदर्शमा टेकेर अगाडि बढ्नका लागि र नेतृत्वलाई निरंकुश हुनबाट जोगाउन भेला गर्न लागिएको सो समूहका नेताहरु बताउँछन्। ´मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसको नीति आदर्श र सिद्धान्त जोगाउन र नेतृत्वलाई निरंकुश हुनबाट बचाउन राष्ट्रिय भेला आयोजना गर्ने तयारी भइरहेको छ। राष्ट्रिय सभाको निर्वाचन लगत्तै भेला आयोजना हुन्छ,`उनले भने।

१४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनलाई संस्थापन समूहले स्वीकार गरेको छैन। उनीहरू विशेष महाधिवेशनविरुद्ध निर्वाचन आयोग र सर्वोच्च अदालतमा पुगेका थिए।

आयोगले थापा र शर्मा नेतृत्वको विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि उक्त समूह सर्वोच्च अदालतसम्म पुगेका हुन्। सर्वोच्च अदालतले निवर्तमान संस्थापन समूहका पक्षमा अन्तरिम आदेश दिएन। न्यायाधीश सुनिल पोखरेलको इजलासले माघ ६ गते निर्वाचन आयोगलाई कारण सहित १५ दिनभित्र लिखित जवाफ लिएर उपस्थित हुन निर्देशन दिएको छ।

विशेष महाधिवेशनले उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्री डा डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेसी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिडडिएको क्षेत्र) निर्वाचित गरेको थियो।

About Author

Advertisement