कमाण्ड सम्हालेसंगै नयाँ एसपी खड्काको कडा निर्देशन

IMG-20260123-WA0096

झापा: झापा पुलिस प्रमुखको कमाण्ड सम्हालेसंगै नयाँ पुलिस उपरीक्षक(एसपी) बसुन्धरा खड्काले मातहतका पुलिसहरुलाई कडा निर्देशन दिएकी छन्।
आजदेखि उनले जिल्ला पुलिस कार्यालय झापाको कमाण्ड सम्हालेकी हुन्। सरुवा भएर गएका एसपी राजन लिम्बूको विदाईसंगै नयाँ एसपी खड्काको लागि जिल्ला प्रहरी कार्यालयमा स्वागत कार्यक्रम राखिएको थियो।
त्यस कार्यक्रममा बोल्दै एसपी खड्काले शान्तिपूर्ण रुपले निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारी आएकाले शान्ति सुरक्षा कायम गर्न सक्रिय भएर लाग्न निर्देशन दिएको एक प्रहरी अधिकारीले बताए। ती पुलिस अधिकारीका अनुसार एसपी खड्काले जिल्लाका पुलिसहरुले गर्ने काम कारवाहीका बारेमा जान्न पुलिस युनिटहरुको अनुगमन गर्ने बताएकी छन्। प्रतिदिनसंग कुरा गर्दै खड्काले आफू नयाँ भएकाले मातहतका पुलिससंग बुझ्‌ने कार्य गरिरहेको जानकारी दिइन्।
गृह मन्त्रालयले निर्वाचन गराउनकै लागि खड्कालाई झापामा पठाएको हो। उनी बाग्मती प्रदेश पुलिस कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा हेटौडाबाट आएकी हुन्।
गृह मन्त्रालयले रबिबार ४८ जना पुलिस उपरीक्षक( एसपी) को सरुवा गरेको थियो। यसक्रममा जिल्ला पुलिस कार्यालय झापामा कार्यरत एसपी राजन लिम्बू सरुवा भएर मानव बेचबिखन अनुसन्धान व्यूरो अनुसन्धान व्यवस्थापन शाखा काठमाण्डौं गएका छन्।

About Author

Advertisement