दाेआ: कतारको सुरक्षा बलले ईरानी इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सका लागि जासुसी गरेको आरोपमा १० जनालाई पक्राउ गरेको छ।
कतारको सरकारी समाचार एजेन्सीका अनुसार बुधबार बिहानै गरिएको एक विशेष अपरेशनका क्रममा दुईवटा छुट्टाछुट्टै समूह (सेल) मा आबद्ध संदिग्धहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामध्ये सात जनाको समूहलाई कतारका महत्त्वपूर्ण नागरिक तथा सैन्य पूर्वाधारहरूको गोप्य सूचना सङ्कलन गर्ने र जासुसी गर्ने जिम्मा दिइएको समाचार एजेन्सीले जनाएको छ।
त्यसैगरी, पक्राउ परेका अन्य तीन जनामाथि ड्रोन प्रयोगको विशेष तालिम लिएको र त्यसैमार्फत जासुसी गतिविधि सञ्चालन गर्न खोजेको अभियोग लगाइएक़ो छ।
सरकारी सञ्चारमाध्यमका अनुसार सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले आफूहरू ईरानी रिभोल्युसनरी गार्डसँग आबद्ध रहेको स्वीकार गरेका छन्। उनीहरूले आफूहरूलाई कतारमा जासुसी र विध्वंसात्मक गतिविधिहरू सञ्चालन गर्न खटाइएको समेत बयान दिएको छ।










