ओलीको निवासमै पुगेर जाँचबुझ आयोगले लियो बयान

IMG-20260104-WA0111

काठमाण्डू: गत सितंबरमा भएको युवा (जेनजी) आन्दोलनको क्रममा भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिएको छ। आयोगका अधिकारीहरू ओलीको निवासमै पुगेर बयान लिएका हुन्।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार ओलीलाई आइतवार नै बयानका लागि पत्र पठाइएको थियो। “उहाँले आजै आफ्नो स्टेटमेन्ट दिनुभएको हो,” शर्माले भने। उनका अनुसार ओलीले आफ्ना भनाइ लिखित रूपमा आयोगसमक्ष पेस गरेका छन्।
यसअघि ओलीले आयोगमा स्वयं उपस्थित भएर बयान नदिने अडान सार्वजनिक रूपमा व्यक्त गर्दै आएका थिए। आयोगले भने उनलाई अनुमतिबिना काठमाण्डूबाहिर जान नपाउने गरी स्थानहद तोकेको छ। स्थानहदबारे अन्तिम निर्णय भने आयोगको बैठकबाट हुने शर्माले बताए।
यसअघि नेकपा एमालेका एक पदाधिकारीले ओलीकहाँ आयोगको पत्र पुगेको पुष्टि गरेका थिए। नाम नखुलाउने सर्तमा ती पदाधिकारीले ओली आयोगको कार्यालय नजाने तर आयोगका अधिकारीहरू नै निवासमा पुगेर बयान लिने तयारी भएको बताएका थिए।
सेप्टेम्बर ८ मा नवयुवाहरूले गरेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर कैयौँको ज्यान गएको थियो। त्यसको भोलिपल्ट आन्दोलन थप चर्किँदै काठमाण्डूसहित विभिन्न स्थानमा लुटपाट, तोडफोड र आगजनीका घटनाहरू भएका थिए। त्यसपछि तत्कालीन प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएका थिए।
एमाले अध्यक्षसमेत रहेका ओली र उनका दलका नेताहरूले गौरीबहादुर कार्की नेतृत्वको आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै आलोचना गर्दै आएका छन्। आयोगले यसअघि तात्कालिक गृहमन्त्री रमेश लेखक तथा सुरक्षा निकायका नेतृत्वसँग बयान लिइसकेको छ।

About Author

Advertisement