नयाँ दिल्ली: चर्चित भारतीय संगीतकार ए.आर. रहमानले हालै दिएको एक अन्तर्वार्तापछि उत्पन्न आलोचनाबारे आफ्नो धारणा स्पष्ट गरेका छन्। आइतबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत भिडियो सन्देश जारी गर्दै उनले आफ्ना भनाइ कहिलेकाहीँ गलत रूपमा बुझिन सक्ने तर कसैको भावना दुखाउने उद्देश्य कहिल्यै नरहेको बताएका छन्।
‘रोजा’, ‘बम्बे’ र ‘दिल से’ जस्ता चर्चित चलचित्रहरूका संगीतकार रहमानले भने, संगीत सधैं भारतको संस्कृति, विविधता र सम्मानसँग जोडिएको माध्यम रहँदै आएको छ। “भारत मेरो प्रेरणा, मेरो गुरु र मेरो घर हो। मेरो उद्देश्य सधैं संगीतमार्फत सेवा, सम्मान र सकारात्मकता फैलाउने रह्यो,” उनले भिडियोमा भने।
उनले भारतीय हुनुमा गर्व व्यक्त गर्दै भारतले अभिव्यक्ति स्वतन्त्रता र बहुसांस्कृतिक आवाजलाई सम्मान गर्ने मञ्च दिएको बताए। उनले आफ्नो संगीत यात्रालाई इमानदारी र उद्देश्यसँग जोडिएको भन्दै वेभ समिटमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा ‘जला’ प्रस्तुति, ‘रूह-ए-नूर’ परियोजना, नागाल्याण्डका युवा संगीतकारसँग सहकार्य तथा बहुसांस्कृतिक भर्चुअल ब्यान्ड ‘सिक्रेट माउन्टेन’ निर्माणको उल्लेख गरे।
यसका साथै, नितेश तिवारीद्वारा निर्देशित रणबीर कपूर अभिनीत चलचित्र ‘रामायण’ का लागि संगीत तयार गर्न पाउनु आफ्नो लागि गर्व र सम्मानको विषय भएको रहमानले बताए। “प्रत्येक यात्राले मेरो उद्देश्यलाई अझ बलियो बनाएको छ,” उनले भने।
उल्लेखनीय छ, केही दिनअघि बीबीसी एसियन नेटवर्कसँगको अन्तर्वार्तामा रहमानले पछिल्ला वर्षहरूमा हिन्दी फिल्म उद्योगमा आफूलाई कम काम मिलिरहेको बताएका थिए। उनले निर्णय लिने स्थानमा रहेका केही व्यक्तिहरू रचनात्मक नभएको तथा यसमा साम्प्रदायिक सोचको प्रभाव पनि हुन सक्ने संकेत गरेका थिए, यद्यपि त्यो कुरा प्रत्यक्ष रूपमा कहिल्यै नआएको उनले स्पष्ट पारेका थिए।










