नयाँ दिल्ली: भारतीय कांग्रेसका नेता राहुल गान्धीले मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियालाई लोकतन्त्रका लागि गम्भीर खतरा भएको बताएका छन्। उनका अनुसार प्रशासनिक प्रक्रिया भनेर प्रस्तुत गरिएको एसआईआर व्यवहारमा योजनाबद्ध र रणनीतिक मत चोरीको माध्यम बनेको छ।
राहुल गान्धीले गुजरातमा एसआईआर अन्तर्गत एउटै नाम वा पहिचानबाट हजारौँ आपत्ति दर्ता हुनु स्वाभाविक नभई निर्देशित प्रक्रिया भएको दाबी गरे। उनका अनुसार खास सामाजिक वर्ग र कांग्रेस समर्थक क्षेत्रका मतदातालाई लक्षित गरिएको छ।
उनले भने, “जहाँ-जहाँ सत्तारूढ दललाई चुनावी हारको डर हुन्छ, त्यहाँ मतदातालाई सूचीबाट हटाउने प्रयास गरिन्छ।” गान्धीले यही ढाँचा पहिले आलन्द र राजुरामा प्रयोग गरिएको र अहिले गुजरात, राजस्थान लगायतका राज्यमा दोहोरिँदै गएको दाबी गरे।
उनले निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाउँदै आयोग लोकतन्त्रको रक्षक हुनुपर्ने भए पनि हाल या त मौन बसेको वा प्रक्रियामा सहभागी जस्तो देखिएको बताए। एसआईआर प्रक्रियामा पारदर्शिता, प्रभावित मतदातालाई पर्याप्त अवसर र स्वतन्त्र अनुगमन आवश्यक रहेको उनको माग छ।
राहुल गान्धीले चेतावनी दिए कि मतदाता सूचीमा हुने हस्तक्षेप रोकिएन भने यसले कुनै एक दल मात्र होइन, सम्पूर्ण भारतीय लोकतन्त्रको विश्वसनीयतामा गम्भीर असर पार्नेछ।









