मुंबई: बलिउडका तीन महान् सुपरस्टार—शाहरुख खान, सलमान खान र आमिर खान—तीन दशकभन्दा बढी समयदेखि ठूलो पर्दामा राज गर्दै आएका छन्। उनीहरूको नाम मात्रैले पनि दर्शक हलतर्फ आकर्षित हुन्छन्। तर समयसँगै दर्शकको रुचि र अपेक्षा बद्लिएको छ। यही परिवर्तनतर्फ संकेत गर्दै अभिनेता इमरान खानले हालै एक अन्तर्वार्तामा तीनै खानलाई लिएर खुलेर टिप्पणी गरेका छन्।
आमिर खानका भान्जा इमरान खानको धारणा अनुसार, निश्चित उमेरपछि युवा नायकको भूमिका निर्वाह गर्नु तर्कसंगत रहँदैन। उनको सिधा टिप्पणी थियो, “एक निश्चित उमेरपछि नायकको भूमिका निभाउन सकिँदैन।” उनले थपे, “मुख्य नायकको रूपमा पनि अभिनेता क्रमशः त्यो उमेरको सीमा पार गर्दै जान्छन्।”
इमरानले सम्झाएका छन् कि शाहरुख, सलमान र आमिर- तीनैजना अहिले साठको आसपास उमेरमा छन्। यद्यपि, उनीहरूको दीर्घकालीन सफलता र लोकप्रियता बलिउडको इतिहासमा सदैव अमिट रहनेछ। यस सन्दर्भमा उनले भने, “तीनै खान अहिले साठको घेरामा छन्… उमेर बढेसँगै तपाईंले आफ्नो पात्रको स्वरूप पनि परिवर्तन गर्नुपर्छ।” उनका अनुसार, अभिनेता यात्रामा यो एक स्वाभाविक र अपरिहार्य परिवर्तन हो, जहाँ उमेरसँगै पात्रहरूमा पनि परिपक्वता आउनुपर्छ।
इमरानले केवल कलाकारहरूको उमेर मात्र होइन, दर्शकको मानसिकताको पनि चर्चा गरेका छन्। उनका शब्दमा, “तपाईंको स्टारडम पनि समयसँगै बदलिन्छ, किनकि एकातर्फ तपाईंका साथसाथै हुर्किएका दर्शक हुन्छन्, भने अर्कोतर्फ नयाँ युवा पुस्ता अघि आउँछ।” पुस्ता बदलिँदा नायक पनि बदलिनुपर्ने उनको मान्यता छ।
उनले भने, “जब हामी फिल्म वा सिरिज हेर्छौं, सबैभन्दा पहिले कथाभित्र र पात्रभित्र आफूलाई खोज्छौं।” थप्दै उनले भने, “स्वाभाविक रूपमा हामी त्यही व्यक्तिसँग बढी जोडिएको महसुस गर्छौं, जसको उमेर र जीवनअनुभव हामीसँग नजिक हुन्छ।”
सबैभन्दा बढी चर्चा युवा पुस्तालाई लिएर गरिएको उनको टिप्पणीले पाएको छ। इमरानका अनुसार, “युवा पुस्ता सायद सत्तरी वर्षको व्यक्तिको कथा हेर्न रुचि नदेखाउन सक्छ।” यही टिप्पणीले सामाजिक सञ्जालमा तीव्र बहस सुरु गराएको छ। कतिपयले इमरानले यथार्थ बोलेको बताएका छन् भने कतिपयले बलिउडका तीन खानजस्ता दिग्गज कलाकारबारे यस्तो टिप्पणी गर्नु असम्मानजनक भएको धारणा राखेका छन्।
धेरैले यो बयानलाई हालका बक्स अफिस नतिजासँग पनि जोडेर हेरेका छन्। शाहरुख खानको भव्य पुनरागमनले दर्शकलाई उत्साहित त गर्यो, तर सबै फिल्मले समान सफलता पाउन सकेनन्। आमिर खानका केही पछिल्ला कामले अपेक्षित प्रतिक्रिया पाउन सकेनन्, भने सलमान खानको हकमा पनि पछिल्लो समय सफलता र असफलताको मिश्रित चित्र देखिएको छ।
यद्यपि, तीनै खानका धेरै प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत यी टिप्पणीहरूको कडा विरोधसमेत जनाएका छन्।









