दार्जीलिङ: भारतीय नेपाली गीत–संगीतको आकाशमा आज पुनः एउटा सुमधुर सर्जना थपिएको छ। जीवनको क्षणभंगुरता र यसको अमूल्यतालाई भावपूर्ण शब्द र धुनमार्फत उजागर गर्ने गीति कोसेली “एकैबारको लागि हो यो जिन्दगानी” आज विधिवत रूपमा सार्वजनिक गरिएको छ।
यस गीति कोसेलीका निर्माता दार्जीलिङ पहाडका वरिष्ठ गायक पेमा लामा रहेका छन् भने शब्द सर्जक वरिष्ठ साहित्यकार तथा गीतकार अजयकुमार थापा हुन्। गीतलाई आफ्ना सुमधुर स्वरले जीवन्त तुल्याएकी गायिका सुवासिनी शर्मा ले भावनात्मक प्रस्तुति दिएकी छन्।
यस गीतको संगीत संयोजन काठमाडौँ, नेपालका संगीतकार पवन वाङ लामा ले गरेका हुन्। खरसाङस्थित मेलोडी म्युजिक स्टुडियोमा रेकर्डिङ सम्पन्न गरिएको उक्त गीतको मिक्सिङ तथा मास्टरिङ काठमाडौँका वाङचु फुबा द्वारा गरिएको हो।
भव्य लोकार्पण समारोह:
दार्जीलिङ सोनादा स्थित हाम्रो भान्साघर प्रेक्षागृह मा आयोजित एक गरिमामय समारोहबीच गीति कोसेलीको लोकार्पण सम्पन्न भयो। कार्यक्रममा टी टी शेर्पा, विनोद राई, अरुण गुरुङ, गोपाल योन्जन प्रतिष्ठान का अध्यक्ष तथा रेकर्डिस्ट मित्र लामा, संगीतकार महेश्वर लामा लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भ संगीतकार मित्र लामाले सञ्चालन गर्दै अतिथिहरूलाई स्वागत गरेका थिए। त्यसपछि पत्रकार सविता सङ्कल्पले गीति कोसेलीसँग आबद्ध स्रष्टाहरूको परिचय गराउँदै कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाइन्। उपस्थित अतिथिहरू, अभिभावकवर्ग तथा स्रष्टाहरूको बाहुलीबाट गीति कोसेलीको विधिवत लोकार्पण गरिएको थियो।
२५ फरवरी २०२६ का दिन सार्वजनिक गरिएको यस कोसेलीको औपचारिक घोषणा अतिथि टी.टी. शेर्पाद्वारा गरिएको थियो।
गायिकाको उपलब्धि र स्रष्टाहरूको मन्तव्य:
गायिका सुवासिनी शर्मा यसअघि गोर्खा दुःख निवारक सम्मेलन, दार्जीलिङद्वारा आयोजित वार्षिक नेपाली संगीत प्रतियोगिता “स्वरार्थी–२०१९” की विजेता रहिसकेकी छन्। साथै उनी चर्चित रियालिटी शो हिमालयन आइडलकी फाइनलिस्ट पनि हुन्। शास्त्रीय संगीतमा विशारद उपाधि हासिल गरिसकेकी उनले यस गीतमा आफ्नो परिपक्व स्वरकला प्रस्तुत गरेकी छन्।
लोकार्पणपश्चात् निर्माता पेमा लामा, गीतकार अजयकुमार थापा र गायिका सुवासिनी शर्माले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै गीतका शब्दमा समेटिएको जीवन दर्शन, संगीत संयोजनको भावभूमि तथा प्रस्तुतिको संवेदनशील पक्षबारे प्रकाश पारे। उनीहरूले “जिन्दगी एकैपटक पाइने अनमोल अवसर हो” भन्ने सन्देशलाई संगीतमार्फत श्रोतामाझ पुर्याउने प्रयास गरिएको बताए।
सम्मान र समापन:
कार्यक्रमको अर्को चरणमा उपस्थित अतिथिहरूले निर्माता, शब्दकार, संगीतकार, गायिका तथा उनका अभिभावकलाई बधाई तथा सम्मान अर्पण गरे। अन्त्यमा पत्रकार सविता सङ्कल्पले उपस्थित सम्पूर्ण अतिथि, स्रष्टा तथा अनुपस्थित कलाकारहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरिन्।
जीवनप्रतिको सकारात्मक दृष्टिकोण र समयको महत्त्वलाई उजागर गर्ने यस गीति कोसेलीले नेपाली संगीतप्रेमीहरूको मन जित्ने विश्वास व्यक्त गरिएको छ भनी पत्रकार सबिता संकल्पले जानकारी दिएकी छन्।








