उत्तर बङ्गालमा ग्यास आपूर्तिमा अस्थायी समस्या, अधिकारीद्वारा सुनिश्चितता

FB_IMG_1773420673808

सिलगढी: पछिल्ला केही दिनदेखि घरेलु ग्यासको उपलब्धताप्रति जनताको चासो व्याप्त भएको छ। यस विषयमा सांसद राजु विष्टले भारत आयल निगम (आइओसिएल) का नोडल अधिकृतसँग सम्पर्क गरे। साथै यस क्षेत्रमा जनताको आवश्यकतालाई पूरा गर्न पर्याप्त ग्यास स्टक उपलब्ध छ भनि अधिकृतहरूद्वारा दिइएको जानकारीको बारेमा सांसदले संजाल मार्फत उल्लेख गरे।
सांसद विष्टले भने, अधिकृतले थप जानकारी दिए अनुसार सामान्यतया उत्तर बङ्गाल क्षेत्रभर आइओसिएल दैनिक ५०,००० ग्यास सिलिन्डर इकाइको माग व्यवस्थापन गर्दछ। तर, हिजो धेरै नागरिकले ग्यास बुकिङ एकैपटक दोहोर्‍याएर गर्दा बुकिङ प्रणालीमा अत्यधिक भार पर्यो र सफ्टवेयर बन्द भयो। तथापि, आजदेखि सामान्य बुकिङ प्रणाली पुनः सञ्चालनमा आएको छ। यसका साथै, केही असामाजिक व्यक्ति राजनीतिक स्वार्थका कारण भ्रम फैलाइरहेका छन्, जसले जनमानसमा डर र बेचैनी सिर्जना गर्ने प्रयास गरिरहेको देखिएको छ।
नागरिकलाई नचाहिँदो अफवाहमा नपर्ने अनुरोध गर्दै सांसद विष्टले अझै भने- पश्चिम एशियामा जारी द्वन्द्व र हर्मुज स्ट्रेटको अवरोधका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा भएको अवरोधका कारण सरकारले घरेलु उपभोगलाई प्राथमिकता दिँदै आपूर्ति सुनिश्चित गरिरहेको छ। साथै, भारत सरकारले मध्यपूर्व बाहेकका वैकल्पिक स्रोतबाट थप तरल प्राकृतिक ग्यास (एलएनजी) र तरल पेट्रोलियम ग्यास (एलपीजी) प्राप्त गर्न सक्रिय प्रयास गरिरहेको छ र आन्तरिक उत्पादन पनि बढाउँदैछ।
अन्तमा सांसदले सबै नागरिक समक्ष रत्तिभर डर नमान्न आग्रह गर्दै परिस्थितिलाई नजिकबाट निगरानी राखिरहेको जनाए। साथै सरकारले आपूर्ति छिट्टै सामान्य बनाउन काम गरिरहेको जानकारी गराउंँदै यस क्षेत्रमा जनतालाई कुनै समस्या नपरोस् भनेर सकेको सबै उपाय गर्ने प्रतिबद्धता व्यक्त गरे।

About Author

Advertisement