लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबलमा म्यानचेष्टर सिटीले निराशाजनक हारको सामना गर्नु पऱ्यो जबकि आर्सनल र लिभरपूल पनि ड्र-मा रोकियो। शनिवार राति खेलिएको म्याचमा म्यानचेष्टर युनाइटेडले म्यानचेष्टर सिटीलाई २-०-ले पराजित गऱ्यो। बहुप्रतीक्षित म्यानचेष्टर डर्बी-को पहिलो हाफमा रोचक प्रतिस्पर्धा भए पनि दोस्रो हाफको खेलमा लगातार २ गोल गरी युनाइटेडले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ३२ प्रतिशत पोजेशनको साथ खेल्ने म्यानचेष्टर युनाइटेडबाट ब्रायन एम्ब्यूमोले ६५औं र पेट्रिक डोर्गुले ७६औं मिनटमा गोल गरे। यस जीतको साथ म्यानचेष्टर युनाइटेड २२ वटा म्याचमा ३५ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको पाँचौं स्थानमा पुग्यो। यसरी दोस्रो स्थानमा रहने म्यानचेष्टर सिटीसँग ४३ पोइण्ट्स रहेको छ। यसरी शक्तिशाली आर्सनललाई नटिंघम फरेष्टले गोलरहित ड्र (०-०)-मा रोक्यो। यस अवे म्याचमा ६० प्रतिशत पोजेशनको साथ खेल्दै आर्सनलले लगातार आक्रमण गरे पनि गोल गर्न सकेन। यस ड्र पछि पनि शीर्षमा कायम आर्सनलसँग अहिले ५० पोइण्ट्स रहेको छ। यसरी नटिंघम फरेष्ट २२ पोइण्ट्सको साथ १७औं स्थानमा रहेको छ।
लिभरपूल र बर्नलीबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ७३ प्रतिशत पोजेशनको साथ खेल्दै लिभरपूल मध्यान्तरसम्म एक गोलले अघि रहेको थियो। होम टीमको निम्ति फ्लोरिएन विर्त्जले ४२औं मिनटमा गोल गरे। त्यसपछि मार्कस एडवर्ड्सले ६५औं मिनटमा गोल गरी बर्नलीलाई १-१-को बराबरीमा पुऱ्याए। यस ड्र पछि लिभरपूल ३६ पोइण्ट्सको साथ चौथो स्थानमा रहन पुग्यो। चेल्सीलाई चाहिँ ब्रेण्टफोर्डविरुद्ध २-०-ले जीत हासिल गर्नमा अधिक समस्या भएन। आफ्नो होम ग्राउण्ड स्टामफोर्ड ब्रीजमा ४७ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीबाट जोआओ पेड्रोले २६औं र कोल पाल्मरले ७६औं मिनटमा गोल गरे। ब्रेण्टफोर्डले लगातार प्रयास गरे पनि गोल हासिल गर्न सकेन। यस जीतको साथ चेल्सी ३४ पोइण्ट्सको साथ छैटौं स्थानमा रहन पुग्यो जबकि ब्रेण्टफोर्ड ३३ पोइण्ट्सको साथ सातौं स्थानमा रहेको छ। टोटनह्यामले पनि वेष्ट ह्यामविरुद्ध १-२-ले हारको सामना गर्नु पऱ्यो। यस अवे म्याचमा ३९ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट क्रिसेन्सिओ समरविलेले १५औं र कलम विल्सनले दोस्रो हाफको इञ्ज्युरी टाइमको तेस्रो मिनटमा गोल गरे। वेष्ट ह्याम १७ पोइण्ट्सको साथ १८औं र टोटनह्याम २७ पोइण्ट्सको साथ १४औं स्थानमा रहेको छ। अन्य म्याचहरूमा सण्डरल्याण्डले क्रिस्टल प्यालेसलाई २-१-ले अनि लीड्स युनाइटेडले फूलहामलाई १-०-ले पराजित गऱ्यो।









