इस्लामावाद: पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार भएको आत्मघाती बम विस्फोटको मुख्य योजनाकार पक्राउ परेको छ। इस्लामाबादको तरलाईस्थित इमामबाडामा रहेको शिया मस्जिदमा भएको आत्मघाती बम विस्फोटमा ३१ जनाको मृत्यु भएको थियो। पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले मास्टरमाइन्ड सहित चार जनालाई पक्राउ गरिएको घोषणा गरे। पत्रकार सम्मेलनमा गृहमन्त्री नक्वीले घटनामा संलग्न चार व्यक्तिमध्ये एक मास्टरमाइन्ड भएको बताए। नक्वीले विस्फोटको मुख्य योजनाकार आइएसआईएससँग सम्बन्धित अफगानी नागरिक भएको दाबी गरे। उनले आक्रमणको सबै योजना र तालिम अफगानिस्तानमा भएको पनि बताए।
उनले पक्राउ परेकाहरूले आक्रमणकारीहरूलाई पाकिस्तान कसरी ल्याइयो र उनीहरूलाई कसरी तालिम दिइएको थियो भन्ने बारेमा जानकारी दिएको बताए। आइएसआईएसले शनिबार घटनाको जिम्मेवारी लिएको छ। गृहमन्त्री नक्वीले अफगानिस्तान र भारत दुवैलाई घटनाको प्रायोजक भएको आरोप लगाएका छन्। उनले भारतले अफगानिस्तानबाट सञ्चालित आतंकवादी सञ्जालहरूलाई आर्थिक सहयोग गरिरहेको दाबी गरे। उनको टिप्पणीको जवाफमा, भारतको विदेश मन्त्रालयले पाकिस्तानको आरोपलाई निराधार भनेको छ।
शुक्रबारको विस्फोटमा १७० भन्दा बढी व्यक्ति घाइते भएका छन्।










