आसनसोल: आसनसोल दक्षिण विधानसभा अन्तर्गत मण्डल–४ को पुरातन एगाराको बदाम बागान क्षेत्रमा हनुमान मन्दिरको नयाँ शेड उद्घाटन गरियो। यस अवसरमा ‘पाडाय–पाडाय दिदिभाइ’ पहललाई थप सशक्त बनाउँदै घर–घर पुग्ने अभियान सञ्चालन गरिएको जानकारी प्राप्त छ।
प्राप्त जानकारी अनुसार कार्यक्रम अन्तर्गत आसनसोल दक्षिण कि विधायिका अग्निमित्रा पालसितै सामेल जनप्रतिनिधिले प्रत्येक घर र परिवारसम्म पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरे। उनीहरूले नागरिकहरूको आवश्यकता, प्राप्त सेवा तथा आगामी अपेक्षाबारे जानकारी लिए। स्थानीय समस्यालाई नजिकबाट बुझ्नु नै यस भ्रमणको मुख्य उद्देश्य रहेको बताए।
विपक्षी दलका निर्वाचित जनप्रतिनिधिको हैसियतमा काम गर्दा विभिन्न प्रशासनिक तथा राजनीतिक चुनौतीहरूको सामना गर्नुपरेको उल्लेख गर्दै विधायिका अग्निमित्रा पालले प्रतिकूल परिस्थितिका बाबजुद जनताको साथमा रहने प्रतिबद्धता दोहोर्याएकी छन्। साथै, प्रधानमन्त्री नरेन्द्र मोदी को नेतृत्वमा केन्द्र सरकारद्वारा सञ्चालित जनमुखी योजना तथा पहलहरूको जानकारी सर्वसाधारणसम्म पुर्याउनु पनि आफ्नो प्राथमिकता रहेको बताइन्।

यसैबीच उनले राज्यमा रोजगारी सिर्जना तथा विकासका सवालमा ममता बेनर्जी नेतृत्वको सरकार असफल भएको आरोप लगाउँदै वैकल्पिक विकासको मार्ग प्रस्तुत गर्न आफूहरू प्रतिबद्ध रहेको दाबी गरिन्। साथै आगामी दिनमा जनताको समर्थन प्राप्त भएमा उनीहरूको अपेक्षा पूरा गर्न अझ प्रभावकारी रूपमा कार्य गर्ने विश्वास व्यक्त गरिन्।








