आशा प्यारामेडिकल ठगी काण्ड: सिक्किम प्रतिनिधिमण्डलद्वारा सिलिगुडी पुलिस कमिश्नरसँग उच्चस्तरीय छलफल

FB_IMG_1770734743766

सिलगडी: सालबारीस्थित आशा प्यारामेडिकल इन्स्टिच्युटसँग सम्बन्धित कथित शैक्षिक ठगी प्रकरणमा छिटो, निष्पक्ष र कडा कारबाहीको माग गर्दै सिक्किम सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डलले सोमबार सिलगडीका पुलिस कमिश्नर सी. सुधाकरसँग औपचारिक भेटघाट तथा छलफल गरेको छ।
भेटमा सोनाम छोपेल शेर्पा (अध्यक्ष, सिक्किम विद्यार्थी कल्याण बोर्ड), छेरिङ वाङचुक लेप्चा (मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव), उज्वल राई (विशेष सचिव, शिक्षा विभाग) तथा शर्मिष्ठा प्रधान (अतिरिक्त सचिव, गृह – प्रोटोकल) सहभागी थिए।
प्रतिनिधिमण्डलले सिक्किमका विद्यार्थीहरू कथित ठगीमा परेको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसले विद्यार्थीहरूको शैक्षिक भविष्य, आर्थिक अवस्था तथा मानसिक स्वास्थ्यमा गहिरो असर पारेको उल्लेख गर्‍यो। दोषीहरूमाथि तत्काल कडा कानुनी कारबाही गरी पीडित विद्यार्थीलाई शीघ्र न्याय दिलाउन माग गरिएको छ।
पुलिस कमिश्नर सी. सुधाकरले हालसम्म यस प्रकरणमा चार जना अभियुक्त पक्राउ परिसकेको जानकारी दिँदै मुख्य अभियुक्तसहित अन्य संलग्न व्यक्तिहरूको खोजी तीव्र रूपमा भइरहेको बताए। घटनाको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर अघि बढाइएको र सबै दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता उनले व्यक्त गरे।
सिलगडी पुलिस प्रशासनले घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिँदै निष्पक्ष, पारदर्शी र प्रभावकारी अनुसन्धानमार्फत दोषीलाई कडा सजाय सुनिश्चित गरिने जनाएको छ। उक्त जानकारी आधिकारिक प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको हो।।

About Author

Advertisement