नयाँ दिल्ली: भारतकी वित्त मन्त्री निर्मला सीतारमणले आयकर ऐन २०२५ आगामी अप्रिल १ देखि लागू गरिने र यससँग सम्बन्धित नियम तथा आयकर रिटर्न फाराम छिट्टै अधिसूचित गरिने जानकारी दिएकी छन्।
आर्थिक वर्ष २०२६–२७ को बजेट प्रस्तुत गर्दै उनले नयाँ आयकर ऐनले झन्डै छ दशक पुरानो कर कानुनको स्थान लिने बताइन्। बजेटमा प्रत्यक्ष करसम्बन्धी गरिएका परिवर्तनहरू यसै ऐनमा समावेश गरिएको छ।
लोकसभामा बजेट भाषण गर्दै सीतारमणले भनिन्, “प्रत्यक्ष कर संहिता रेकर्ड समयमा तयार गरिएको हो। आयकर ऐन २०२५ अप्रिल १, २०२६ देखि प्रभावकारी हुनेछ। सरलीकृत आयकर नियम र रिटर्न फाराम चाँडै अधिसूचित गरिनेछ, जसले करदातालाई नयाँ व्यवस्थासँग अभ्यस्त हुन पर्याप्त समय दिनेछ।”
उनका अनुसार आयकर रिटर्न फाराम यसरी तयार गरिएको छ कि सामान्य नागरिकले पनि सजिलै बुझेर प्रयोग गर्न सकून्। वित्त मन्त्रीले स्पष्ट पारिन् कि आयकर ऐन २०२५ राजस्व तटस्थ छ र कर दरमा कुनै परिवर्तन गरिएको छैन।
उनले भनिन्, नयाँ ऐनको मुख्य उद्देश्य प्रत्यक्ष कर प्रणालीलाई सरल बनाउनु, अस्पष्टता हटाउनु र करसम्बन्धी विवाद तथा मुद्दा–मामिला घटाउनु हो।









