दार्जिलिङबाट अजय एडवर्ड्स, खरसाङबाट बन्दना राई र कालेबुङबाट भेर्नोन ब्रिटो लेप्चाको नाम घोषणा
सोनादा: ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट(आईजेजीएफ) ले आगामी विधानसभा चुनावको लागि आफ्नो उम्मेद्वारहरूको घोषणा गरेको छ। पश्चिम बंगाल विधानसभा चुनावमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले उम्मेद्वार खडा गर्ने चर्चा विगत धेरै दिन अघिदेखि चुलिन्दै आएको थियो। आईतवार सोनादादेखि केही मुनि रहेको इन्टेकमा श्रमदानद्वारा निर्माण हुन गईरहेको उन्मुक्ति पुलको अन्तिम ढलाईसंएँगै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले उम्मेद्वारहरूको घोषणा गरेको छ। जसमा दार्जीलिङ विधानसभा क्षेत्रबाट पार्टीका केन्द्रीय संयोजक अजय एडवर्ड्स आफै चुनाउ मैदानमा उत्रेका छन्। त्यसरी नै खरसाङ विधानसभा क्षेत्रबाट अधिवक्ता बन्दना राई, कालेबुङ विधानसभा क्षेत्रबाट पूर्व जिल्लाधिकारी भेर्नोन ब्रिटो लेप्चा रहेका छन्। ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले पहाडको तीनवटा विधानसभा समष्टिहरु लगायत तराई डुवर्समा पनि आफ्नो उम्मेद्वारहरु उठाएका छन्। यसमा मतिगढा नक्सलबारी विधानसभा क्षेत्रबाट निमेष सुन्दास, सिलगढी विधानसभा क्षेत्रबाट कृष्णनन्द सिंहलाई उम्मेद्वार घोषणा गरेका छन्। यसको अतिरिक्त ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले तराई डुवर्स जनशक्ति फ्रण्टको तर्फबाट डुवर्स क्षेत्रमा रहेका नगरकट्टा विधानसभा क्षेत्रबाट रञ्जित खेस र मालबजार विधानसभा समष्टिबाट चन्दन लोहरालाई उम्मेद्वार घोषणा गरेको छ। ईण्डियन गोर्खा जनशक्ति फ्रण्टले भारतीय जनता पार्टी र तृणमूल कांग्रेस जस्ता राष्ट्रिय राजनैतिक पार्टीहरुलाई समर्थन नगरेर क्षेत्रीयता बचाउने उद्देश्यका साथमा आफ्नै उम्मेद्वारहरु चुनावमा उतारेका छन्। गत धेरै दिन अघिदेखिको उम्मेद्वारहरू लिएर चर्चा परिचर्चा चल्दै आईरहेको थियो। यसै क्रममा आज रंगबुल धोतरिया रंगमुक समष्टि अन्तर्गत सोनादादेखि केही मुनि रहेको इन्टेकमा श्रमदानद्वारा निर्माण हुन गईरहेको उन्मुक्ति पुलको अन्तिम ढलाईसंगै उम्मेद्वारहरूको नाम घोषणा गरेको छ। इन्टेकमा निर्माण हुन गईरहेको उन्मुक्ति पुलको निर्माण कार्यमा पहाडको विभिन्न स्थानहरूबाट श्रमदान गर्न आएका थिए। यस श्रमदानमा अजय एडवर्डस, बन्दना राई, भेर्नोन ब्रिटो लेप्चाले पनि बेल्चा,फरूवा चलाएर श्रमदान दिएका थिए। यस श्रमदान तथा उम्मेद्वारहरू घोषणा कार्यकममा पार्टीको केन्द्रीय नेतृत्वहरूसँग समर्थक तथा स्थानीय मानिसहरूको उपस्थिति रहेको थियो। आगामी चुनावमा उम्मेद्वारहरु घोषणा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्सले पहाड र तराई डुवर्स क्षेत्रको लागि उम्मेद्वारहरु घोषणा गरेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै जनताको राजमा जनतालाई समावेश नगरी नहुने बताए। उनले खरसाङ विधानसभा समष्टिको लागि ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको प्रार्थी बन्दना राई विषयमा बोल्दै भने, बन्दना राई एकदम सक्षम व्यक्ति हुन्। उनले श्रमिकहरुको आवाज उठाईरहेकी छन्। उनी सामाजिक कार्यकर्ता पनि हुन्। उनी हामीले सोचेको प्रार्थी पनि हुन्।’

पत्रकारहरुलाई सम्बोधन गर्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय चुनाव कमिटी सदस्य एनबी खवासले पार्टीले पहाड, तराई र डुवर्स क्षेत्रको लागि नै उम्मेद्वारहरु उठाएको जानकारी गराएका छन्। उनले भने, हामीले परिवर्तन चियाबारीबाट शुरु गर्नुपर्छ। हामी भ्रष्टाचार बिरोधी आवाज उठाउन चाहान्छौं र यस कार्यलाई हामी मुखले मात्र होइन तर व्यवहारिक रूपमा काम गर्न चाहान्छौं। हाम्रो श्रमदान हाम्रो श्रम संस्कार देखाउन गरिएको हो। हाम्रो गठबन्धन जनतासितको हो।’
त्यसरी नै इन्टेकमा श्रमदानद्वारा निर्माण हुन लागेको उन्मुक्ति पुल विषयमा स्थानीय केशव राईले यस पुल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।











