झापा(नेपाल): भारतको आसामको रायनोल्याण्ड क्रिकेट क्लबले झापाको भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह ए अन्तर्गत आज भएको पहिलो खेलमा आयोजक भद्रपुर क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै असमले लगातार तीन जीतसहित सेमिफाइनलमा स्थान बनाएको हो। टस जितेर पहिले ब्याटिङ रोजेको भद्रपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनायो। जवाफमा असमले ५ विकेट गुमाउँदै अन्तिम बलमा १३८ रनको लक्ष्य पूरा गर्यो। अन्तिम बलमा दीपक बोहोराको वाइड बलले असमको जीत सुनिश्चित भयो।

भद्रपुरका कप्तान अंकित सुवेदीले ४६ बलमा ५० रन बनाए भने असमका कप्तान निविर डेकाले ४६ बलमा ७२ रनको विस्फोटक पारी खेले। बलिङतर्फ असमका प्राञ्जल भारालिले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए भने भद्रपुरका भुवन काबर्कीले ११ रन खर्चेर २ विकेट लिए। खेलको म्यान अफ द म्याच विजेता टिमका कप्तान निविर डेका घोषित भए र उनले ११ हजार नगद पुरस्कार पाए।

त्यसैगरी, समूह ए अन्तर्गत आजै भारतको नयाँ दिल्ली र नेपालको काठमाडौँबीचको खेलमा काठमाडौँले ७ विकेटले जीत हासिल गर्दै सेमिफाइनलको सम्भावना जीवित राख्यो। नयाँ दिल्लीले पहिले ब्याटिङ गर्दै १८.१ ओभरमा ९६ रनमा अलआउट भयो। काठमाडौँले ११.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। कप्तान इशान पाण्डेले २४ बलमा ४० रन बनाउँदै जीतमा योगदान दिए। बलिङतर्फ रुपेश श्रीवास्तव र कमल साहीले समान ३–३ विकेट लिए। खेलको म्यान अफ द म्याच कप्तान इशान पाण्डे घोषित भए र उनले ११ हजार नगद पुरस्कार प्राप्त गरे।










