सिल्चर: प्रधानमन्त्री नरेन्द्र मोदीले असममा विधानसभा चुनावअघि शनिबार सिल्चर शहरमा कुल २३,५५० करोड रुपैयाँका परियोजनाहरूको उद्घाटन गरेका छन्।
प्रधानमन्त्रीले कछार जिल्लाको सिल्चर र मेघालयको शिलाङबीच २२,८६४ करोड रुपैयाँको नियन्त्रण प्रवेश-निकासयुक्त एक्सप्रेसवे परियोजनाको ‘भूमि पूजन’ गरेका छन्। अधिकारीहरूले भने अनुसार यो पूर्वोत्तर भारतमा आफ्नो प्रकारको पहिलो परियोजना हो।
१६६ किलोमिटर लामो चार लेनको ग्रीनफिल्ड द्रुतगति मार्गले मेघालय र असमबीचको पहुँच सुविधा सुधार्नेछ। यस परियोजनाले गुवाहाटी र सिल्चरबीचको दूरी २९५ किलोमिटरबाट घटाएर २५२ किलोमिटर बनाउनेछ र यात्रा समय ८.५ घण्टाबाट लगभग ५ घण्टासम्म कम हुने अपेक्षा छ।
प्रधानमन्त्रीले सिल्चरको ‘क्यापिटल पोइन्ट’ नजिक ट्रंक रोडदेखि ‘रङ्गिरखारी पोइन्ट’सम्म एनएच-३०६ मा बन्ने एलिभेटेड कर्पिडोर (चरण-१) को भूमि पूजनमा पनि सहभागी भएका छन्। अधिकारीहरूले भने अनुसार यस परियोजनाले सिल्चरका व्यस्त सडकहरूमा यातायातको दबाब घटाउनेछ र मिजोरम, त्रिपुरा र मणिपुर जस्ता छिमेकी राज्यसँगको सम्पर्क सुधार्नेछ। परियोजनाले बराक भ्यालीको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
यससँगै प्रधानमन्त्रीले करीमगंज जिल्लाको पथारकण्डीमा नयाँ कृषि महाविद्यालयको आधारशिला पनि राखेका छन्। यी सबै परियोजनाहरू ४७,८०० करोड रुपैयाँका परियोजनाहरूको हिस्सा हुन्, जसको उद्घाटन उनले शुक्रबारदेखि असम राज्यमा थालेका छन्।
असममा विधानसभा चुनाव अप्रिलमा हुनसक्ने सम्भावना छ। सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) लगातार तेस्रोपटक सत्ता फर्कने प्रयासमा छ।









