नयाँ दिल्ली: चीन ले अरुणाचल प्रदेश का केही स्थानहरूलाई मनगढन्ते नाम दिएको विषयमा भारतले कडा प्रतिक्रिया जनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवाल ले चीनको यस्तो कदमलाई पूर्ण रूपमा अस्वीकार गरिएको बताएका छन्। उनले भने, “भारतको भूमि भित्र पर्ने स्थानहरूलाई नयाँ नाम दिने चीनको कुनै पनि प्रयासलाई हामी सिधै खारेज गर्छौं।”
उनका अनुसार चीनले गरेका झुटा दाबी र निराधार कथनहरूले वास्तविकता परिवर्तन गर्न सक्दैनन्। भारतले पुनः दोहोर्याएको छ कि अरुणाचल प्रदेश अतीतदेखि नै भारतको अभिन्न र अविभाज्य हिस्सा रहँदै आएको छ र भविष्यमा पनि रहनेछ।
विदेश मन्त्रालयले चीनका यस्ता गतिविधिले दुई देशबीच सम्बन्ध सामान्य र स्थिर बनाउने प्रयासमा बाधा पुर्याउने जनाएको छ। साथै, भारतले द्विपक्षीय सम्बन्धमा नकारात्मक असर पार्ने यस्ता कदम नचाल्न चीनलाई आग्रह गरेको छ।
उल्लेखनीय छ कि चीन ले सन् २०२१ मा पनि अरुणाचल प्रदेशका २१ स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको थियो, जसलाई भारतले अस्वीकार गरेको थियो।










