नयाँ दिल्ली: ईरानको निम्ति फिफा वर्ल्ड कप २०२६-मा हिस्सा लिनु चुनौतीपूर्ण बन्दै गएको छ। ईरानको फूटबल महासंघले सुरक्षा चिन्ताहरूले गर्दा अमेरिकामा खेलिने आफ्नो म्याचहरू मेक्सिकोमा स्थानान्तरित गर्न फिफासँग कुराकानी शुरु गरेको छ। ईरान फूटबल महासंघका अध्यक्ष मेहदी ताजले सुरक्षाको आश्वासनलाई एउटा ठूलो मुद्दा बताएका छन्। ताजले मेक्सिकोमा ईरानी दूतावासको सोशल मीडिया एकाउण्ट एक्स-मा शेयर गरिएको एउटा पोस्टमा भनेका छन्, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले उनी ईरानी राष्ट्रिय टोलीको सुरक्षा सुनिश्चित गर्न नसक्ने बताइरहेका छन् तब हामी निश्चित रूपले अमेरिका जानेछैनौ। हामी ईरानको वर्ल्ड कप म्याचहरू मेक्सिकोमा गराउन फिफासँग कुराकानी गरिरहेका छौं। गत फरवरीको अन्तमा अमेरिका र इज्रायलको हमला अनि ईरानको जवाबी कार्वाहीले गर्दा मध्य-पूर्व क्षेत्रमा तनाउ सृष्टि भएको छ। ईरानका खेल मन्त्रीले स्थितिको गम्भीरतालाई ध्यानमा राखेर राष्ट्रिय टोलीले वर्ल्ड कपमा हिस्सा लिन नसक्ने सम्भावना व्यक्त गरेका थिए। त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्ल्ड कपको निम्ति ईरानको टोलीलाई स्वागत गरिने बताउनको साथै उनीहरूका सुरक्षाको निम्ति अमेरिकामा खेल्नु सही नहुने पनि दावी गरेका थिए। फिफा वर्ल्ड कप २०२६-को आयोजन अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा गर्नेछ अनि टुर्नामेण्टमा रेकर्ड ४८ वटा देशले हिस्सा लिनेछ। वर्ल्ड कपको वर्तमान क्रीड़ासूची अनुसार, ईरानले ग्रुप चरणको तीनैवटा म्याच अमेरिकामा (लस एञ्जिलिसमा २ वटा अनि सिएटलमा एउटा) खेल्नु छ। यसैकारण ईरान यी म्याचहरू मेक्सिकोमा खेल्न चाहन्छ।










