नयाँ दिल्ली: भारतीय टीमका विध्वंशी ओपनर अभिषेक शर्मालाई पेटको समस्याले गर्दा दिल्लीको एउटा बेसरकारी अस्पतालमा भर्ना गरिएको छ। गत २ दिनदेखि उनको अस्पतालमा उपचार चलिरहेको छ। टीम म्यानेजमेण्टले बताएअनुसार, पेटको समस्याले गर्दा उनको टेस्टहरू गरिँदैछ तर उनले बुधवार छुट्टी पाउनेछन् या छैनन् भन्ने चाहिँ स्पष्ट छैन। यसैकारण बिहीवार नामीबियाविरुद्ध भारतको म्याचमा अभिषेक अनिश्चित बन्न पुगेका छन्। म्याच दिल्लीको अरुण जेटली स्टेडियममा खेलिनेछ। भारतीय टीमलाई चाहिँ उनी चाँड़ै स्वस्थ्य भएको मैदानमा फर्किने आशा रहेको छ। अभिषेक समयमा ठिक हुन नसके नामीबियाविरुद्ध म्याचमा सञ्जु सेमसनले मौका पाउन सक्छन्। ईशान किशन दोस्रो ओपनर हुनेछन्। टीम म्यानेजमेण्ट र मेडिकल स्टाफलाई चाहिँ अभिषेक आइतवार पाकिस्तानविरुद्ध कोलम्बोमा खेलिने म्याचको निम्ति चाहिँ उपलब्ध रहने विश्वास छ। उनको स्वास्थ्य र रिकवरी अहिले टीमको मुख्य प्राथमिकता रहेको छ। सूत्रबाट थाहालागे अनुसार, २५ वर्षीय अभिषेकले साथी खेलाड़ीहरूसँग गत आइतवार मुख्य प्रशिक्षक गौतम गम्भीरको घरमा आयोजित डिनरमा हिस्सा लिएका थिए। त्यहाँबाट अभिषेक चाँड़ै बाहिर निस्किएका थिए। डिनरको समय नै अभिषेकलाई पेटको समस्या भएको सूत्रले सम्भावना व्यक्त गरेको छ। यसबीच केही मीडिया रिपोर्ट्स अनुसार, अभिषेक अमेरिकाविरुद्ध खेलिएको गत म्याचमा पनि सम्पूर्ण रूपले फिट थिएनन् अनि म्याच खेलेपछि उनको स्थिति अझ बिग्रिएको थियो। देब्रे हातका यस ब्याटरलाई त्यस समय तेज ज्वरो आएको अनि तुरन्त राहतको निम्ति ड्रिप चड़ाइएको थियो। शरीर अस्वस्थ्य हुँदा अभिषेकले अरुण जेटली स्टेडियममा टीमको अभ्यास सत्रमा पनि हिस्सा लिएका थिएनन्। अहिले शरीर अस्वस्थ्य हुँदा-हुँदै पनि उनी डिनरको निम्ति गम्भीरको घर किन गए त भन्ने पनि प्रश्न रहेको छ। अमेरिकाविरुद्ध म्याचमा अभिषेक पहिलो बलमै खाता नखोली आउट भएका थिए। यो उनको पहिलो टी२० वर्ल्ड कप हो। अभिषेक अहिले विश्वका नम्बर १ टी२० ब्याटर हुन्। यसैकारण उनको उपलब्धता टीम इण्डियाको निम्ति महत्त्वपूर्ण रहेको छ। अभिषेकले अहिलेसम्म भारतको निम्ति ३९ वटा टी२० इण्टरनेशनल म्याच खेलेका छन्। यस अवधि उनले ३६.०३-को औसतले १२९७ रन बनाएका छन्। उनको स्ट्राईक रेट १९४.४६-को रहेको छ। उनले यस प्रारूपमा २ वटा शतक र ८ वटा अर्द्धशतक लगाइसकेका छन्। टी२० इण्टरनेशनलमा उनको सर्वश्रेष्ठ स्कोर १३५ रन रहेको छ।










