अब बंगालमा भाजपा सरकार बन्नेछ: अमित शाह

IMG-20260131-WA0086

सिलिगुडी/बैरकपुर: उत्तरदेखि दक्षिण, पूर्वदेखि पश्चिम—देशका अधिकांश राज्यहरू अहिले कमलको रङमा रंगिएका छन्। चारैतिर केसरिया झण्डा फहराइरहेका छन्। हाल देशका २१ राज्यमा भाजपा सरकार सत्तामा छ। यति ठूलो सफलताका बाबजुद पनि केन्द्रको सत्तारूढ दल सन्तुष्ट छैन। उसको नजर बंगालतर्फ केन्द्रित छ। बंगालमा सरकार गठन नगरेसम्म मोदी–शाहको अपेक्षित सन्तुष्टि अधुरै रहनेछ। शनिबार सिलिगुडीको जनसभाबाट अमित शाहले यो कुरा स्पष्ट रूपमा बताए।
केन्द्रीय गृहमन्त्रीले भने, “२१ राज्यमा हाम्रो सरकार छ, तर पनि मोदीजी सन्तुष्ट हुनुहुन्न। बंगालमा सरकार बनेपछि मात्र स्वर्णिम सफलता मिल्नेछ।” सन् २०२६ मा बंगालमा सत्ता परिवर्तन हुने विषयमा शाह आत्मविश्वासी देखिए। उनले भने, “ममता सरकारको विदाइ निश्चित छ।”
आज मात्र होइन, लामो समयदेखि भाजपा ‘सोनार बंगाल’ को सत्ता प्राप्त गर्ने सपना देख्दै आएको छ। तर कमजोर संगठन, बङ्गाली पहिचानसँग दूरीजस्ता कारणले यो सपना अहिलेसम्म अधुरै रहेको छ। २०२१ को विधानसभा चुनाव प्रचारका क्रममा अमित शाहले बारम्बार ‘अबकी बार २०० पार’ को नारा दिएका थिए। तर त्यो पटक २०० पारको सपना ७७ सिटमै सीमित भयो। २०२४ को लोकसभा चुनावमा पनि बंगालबाट भाजपा झट्का खायो,२०१९ को तुलनामा सांसद संख्या घट्यो। अर्कोतर्फ, तृणमूल कांग्रेसले राष्ट्रिय राजनीतिमा पुनः मजबुतीका साथ उपस्थिति जनायो।
अब २०२६ को चुनाव नजिकिँदै छ। राजनीतिक वृत्तको ठूलो हिस्साले ममता बनर्जी सरकार चौथो पटक फर्किनेमा खासै शंका गर्दैन। यही पृष्ठभूमिमा अमित शाहले ठीक उल्टो दाबी गरे। बैरकपुरदेखि सिलिगुडीसम्मका कार्यकर्ता सभामा उनले भने कि वर्तमान सरकारको भ्रष्टाचारले जनताको जीवन कष्टकर बनेको छ। महिला मुख्यमन्त्रीको राज्यमा महिलाहरू नै सुरक्षित छैनन्। त्यसैले अब ममता सरकारलाई विदा गर्ने समय आएको छ: २०२६ को चुनावमै उनको विदाइ हुनेछ। उनका शब्दमा, “तपाईंको टा–टा, बाइ–बाइ गर्ने समय आइसकेको छ। यसै वर्ष अप्रिलको अन्त्यसम्म तपाईंले विदा लिनुपर्छ।”
साथै ‘शाही’ वाचा गर्दै शाहले भने कि भाजपा सत्तामा आएपछि आनन्दपुर अग्निकाण्डका दोषीलाई छिटो सजाय दिइनेछ, ४५ दिनभित्र असुरक्षित सीमामा काँडेतार लगाइनेछ र घुसपैठ पूर्ण रूपमा रोकिनेछ। उनले दाबी गरे कि यसपटक बंगालमा भाजपा नै सरकार बनाउनेछ। बैरकपुरको सभाबाट उनले पार्टी कार्यकर्तालाई लक्ष्य पनि दिए- बंगालमा ४५ प्रतिशतभन्दा बढी मत र ५० प्रतिशत सिट भाजपा प्राप्त गर्नेछ।
शाहले भने कि यसपटक ममता बनर्जी सरकारको पतन हुनेछ र तृणमूल कांग्रेस राज्यबाट उखेलिनेछ। उनले पुनः दोहोर्‍याए कि भाजपा सरकार बनेपछि ४५ दिनमै सीमामा फेन्सिङको काम पूरा गरिनेछ।
बैरकपुरको आनन्दपुरी मैदानमा आयोजित कार्यकर्ता सभामा अमित शाहले सुरुदेखि नै तृणमूल कांग्रेस सरकारमाथि तीव्र आक्रमण गरे, जुन क्रमशः अझ कडा बन्दै गयो। उनले आरोप लगाए कि तृणमूल निरन्तर भ्रष्टाचारमा लिप्त छ। ‘मा–माटी–मानुष’ को नारा लगाउने सरकारमा आमाहरू सुरक्षित छैनन्, घुसपैठ भइरहेको छ, जमिन कब्जा हुँदैछ र आम जनता सिन्डिकेटको चंगुलमा फसेका छन्, यस्तो कटाक्ष उनले गरे। उनले राज्य सरकारले सीमामा फेन्सिङका लागि जमिन नदिएको आरोप पनि लगाए, जबकि बंगालमा घुसपैठको विषय सम्पूर्ण देशका लागि चिन्ताको विषय बनेको छ।
शाहले भने, “लोकसभामा मैले भनेको थिएँ- फेन्सिङका लागि राज्य सरकारले जमिन दिइरहेको छैन। अहिले कोलकाता हाई कोर्टले ३१ मार्चअघि बीएसएफलाई जमिन दिन आदेश दिएको छ, तर पनि यी अदालतको आदेश मान्नेवाला छैनन्। अप्रिलमा भाजपा सत्तामा आएपछि ४५ दिनमै फेन्सिङ गरिनेछ।”
उनले सम्झाए कि पहिले बंगालमा भाजपा केवल दुई सिट जित्थ्यो, तर २०१९ मा धेरै भाजपा उम्मेदवार सांसद बने र पछिल्लो विधानसभा चुनावमा ७७ जना विधायक निर्वाचित भए। उनका अनुसार यसपटक भाजपा मत प्रतिशत ३८ बाट बढेर ४५ प्रतिशत पुग्नेछ। कार्यकर्तालाई लक्ष्य दिँदै उनले भने, “तृणमूलले भ्रष्टाचारलाई संस्थागत बनाइसकेको छ। सबै सीमा नाघेर हजारौँ करोडको घोटाला भएको छ। यस्तो सरकार चल्न सक्दैन। मोदीजीले बंगाललाई १० लाख करोड रुपैयाँ दिएका छन्—त्यो पैसा कहाँ गयो? तृणमूलका सिन्डिकेटले लिए, कट–मनी खाए।”
अन्त्यमा शाहले भने कि बङ्किमचन्द्र चट्टोपाध्यायले रचना गरेको ‘वन्दे मातरम्’ को १५० वर्ष पूरा हुँदैछ र केन्द्र सरकारको पहलमा देशभर यसको उत्सव मनाइँदैछ। तर तृणमूलका सांसदहरूले संसदमा यसको विरोध गरिरहेका छन्, यो घुसपैठकर्तालाई खुसी पार्न गरिएको हो। उनले आरोप लगाए कि ममता बनर्जी र तृणमूल कांग्रेसले बंगालको अस्मिता नष्ट गरिरहेका छन्।

About Author

Advertisement