‘अपरेशन सिन्दूर’ माथि चलचित्र निर्माण गर्ने विवेक अग्निहोत्री, सत्य घटनालाई पर्दामा उतार्ने तयारी

vivek_agnihotri_1739429492384_1741439048269

मुम्बई: ‘द बंगाल फाइल्स’ पछि फेरि एकपटक निर्देशक विवेक रञ्जन अग्निहोत्रीले एउटा ज्वलन्त सत्यलाई ठूलो पर्दामा प्रस्तुत गर्न लागेका छन्। यसपटक उनको नयाँ चलचित्रको विषय- ‘अपरेशन सिन्दूर’ रहेको छ।
यो चलचित्र सन् २०२५ को अप्रिल महिनामा पहलगाममा भएको भीषण आतंकवादी आक्रमणपछि भारतले गरेको प्रत्याक्रमणात्मक सैन्य कारबाहीको रोमाञ्चक कथामा आधारित हुनेछ। हालै एक अन्तर्वार्तामा निर्देशक स्वयंले यस परियोजनाको पुष्टि गरेका छन्।
यो चलचित्र अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल के.जे.एस. ‘टिनी’ ढिल्लोनद्वारा लेखिएको पुस्तक ‘अपरेशन सिन्दूर: भारतका सीमापार गहिरा प्रहारहरूको अज्ञात कथा’ मा आधारित रहेको छ।
एक विशेष छलफलमा विवेक अग्निहोत्रीले भने, “म सधैं त्यस्ता कथाहरू भन्न चाहन्छु, जसलाई सार्वजनिक गर्नु अत्यन्त आवश्यक हुन्छ। हाम्रो सशस्त्र बलहरूको साहस, पेशागत दक्षता र रणनीतिक कौशलको यो अद्भुत अध्यायलाई म पूर्ण इमान्दारीका साथ दर्शकसमक्ष प्रस्तुत गर्न चाहन्छु।
यस ठूलो परियोजनाको निर्माण भूषण कुमार र विवेक अग्निहोत्रीले संयुक्त रूपमा गरिरहेका छन्। चलचित्रको मुख्य केन्द्र सन् २०२५ को ६ देखि १० मेसम्म सञ्चालन भएको महत्वपूर्ण सैन्य अभियानमा रहनेछ। निर्देशकका अनुसार, आम मानिसले जति बुझेका छन्, वास्तविक अवस्था त्यसभन्दा धेरै जटिल थियो। यसका लागि गहिरो अध्ययन भइरहेको छ र रक्षा मन्त्रालयका विभिन्न निकायहरूसँग पनि समन्वय राखिएको छ।
निर्माता भूषण कुमारले भने, “केही कथाहरू आफैं निर्देशकलाई रोज्छन्, ‘अपरेशन सिन्दूर’ त्यस्तै एउटा कथा हो। देशको इतिहासका यस्ता महत्वपूर्ण क्षणहरूलाई अभिलेख गर्नु हाम्रो कर्तव्य हो।
उल्लेखनीय छ कि सन् २०२५ को २२ अप्रिलमा शान्त पहलगाम एक भीषण आतंकवादी आक्रमणले स्तब्ध बनेको थियो। पर्यटकहरूको धार्मिक पहिचान सोधेर २६ निर्दोष भारतीयहरूको निर्मम हत्या गरिएको थियो। यस घटनाको जवाफस्वरूप भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेको थियो, जसअन्तर्गत सीमापार रहेका शत्रुका अड्डाहरूमा सटीक प्रहार गरिएको थियो।
विवेक अग्निहोत्रीले यसअघि ‘द ताशकन्द फाइल्स’ र ‘द बंगाल फाइल्स’ जस्ता चलचित्रमार्फत चर्चित र संवेदनशील घटनाहरूलाई पर्दामा उतार्दै प्रशंसा बटुलेका छन्। त्यसैले उनको यस नयाँ चलचित्रलाई लिएर दर्शकमाझ उत्सुकता बढ्दै गएको छ। यद्यपि चलचित्रका कलाकार चयन वा प्रदर्शन मितिबारे हालसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन।

About Author

Advertisement