गान्तोक: अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को स्थापना दिवस सिक्किम च्याप्टरको आयोजनामा काव्यिक संगोष्ठीसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा अनेसास सिक्किम च्याप्टरका अध्यक्ष रुद्र पौडेलले अध्यक्षता गरेका थिए।
कार्यक्रममा अनेसास एशियाकी कार्यकारी रत्ना लक्ष्मी सुब्बाले स्वागत मन्तव्य दिँदै साहित्यमार्फत अन्तरराष्ट्रिय सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ समाज सक्रिय रूपमा कार्यरत रहेको बताइन्। उनले विश्वका विभिन्न देशमा साहित्यिक कार्यक्रममार्फत आपसी सम्बन्ध र सिर्जनात्मक गतिविधि अघि बढाइँदै आएको जानकारी गराइन्।
अनेसासको लक्ष्य नेपाली भाषा, साहित्य, कला, संगीत र नृत्यको संरक्षण मात्र नभई सृजनात्मक विकास, प्रकाशन, अनुवाद, अनुसन्धान र अध्ययनलाई प्रोत्साहन गर्नु रहेको उनले उल्लेख गरिन्। साथै, युवा पुस्तालाई नेपाली सांस्कृतिक धरोहरसँग जोड्ने र अन्तरराष्ट्रियस्तरमा नेपाली साहित्यको पहिचान विस्तार गर्ने उद्देश्य समाजले लिएको बताइन्।
अध्यक्षीय सम्बोधनमा पौडेलले स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना दिँदै साहित्य जीवनको अर्थ बोकेको सर्वसार्थक विधा भएको उल्लेख गरे। उनले पठन संस्कृतिमा आएको कमीप्रति चिन्ता व्यक्त गर्दै सक्रिय सहभागिताको आवश्यकता औंल्याए।
कार्यक्रममा नेपाली साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेल, पूर्व अध्यक्ष प्रद्युम्न श्रेष्ठ, प्रवीण खालिङ, सरोजनी सुब्बा, मणिका शर्मा, जीविका अश्रु, विमला लुइँटेल, चन्द्र दुलाल, उषा शर्मा, मुङ्गा राई, गोपाल छेत्री लगायतले गीत, कविता, मुक्तक, लोककथा तथा एकाङ्की वाचन प्रस्तुत गरेका थिए।
डा. पारसमणि दङ्गालले सञ्चालन गरेको कार्यक्रममा साहित्यकार, संगीतकार र प्रबुद्ध व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।









