नयाँ दिल्ली: भारतले छैटौंपल्ट अण्डर-१९ वर्ल्ड कपको खिताब जितेको छ। शुक्रवार खेलिएको फाइनलमा भारतले ईंग्ल्याण्डलाई १०० रनले पराजित गऱ्यो। यस यादगार जीतको खुशीयालीमा भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले पनि मोटो पुरस्कार राशिको घोषणा गरेको छ। बोर्डले खेलाड़ीहरू, तक्निकी स्टाफ र चयन समितिको निम्ति जम्मा ७.५ करोड़ रुपियाँको नगद पुरस्कार घोषणा गरेको छ। बीसीसीआई सचिव देवजीत सैकियाले यसबारे जानकारी दिँदै भने, जिम्बाब्वे र नामीबियामा आयोजित अण्डर-१९ वर्ल्ड कपमा च्याम्पियन हुने भारतीय टीमलाई ७.५ करोड़ रुपियाँको नगद पुरस्कार दिइनेछ। खेलाड़ीहरू, तक्निकी स्टाफ र चयन समितिबीच राशिलाई बाँड़िने काम चलिरहेको छ तर जम्मा पुरस्कार राशि ७.५ करोड़ रुपियाँ नै हुनेछ। भारतसँग अहिले अण्डर-१९ वर्गमा पुरुष र महिला दुवै वर्ल्ड कप खिताब रहेको छ। भारतीय पुरुष टीमले ६ पल्ट खिताब जितिसकेको छ। यसरी महिला टीमले निकी प्रसादको कप्तानीमा २०२५-मा अण्डर-१९ वर्ल्ड कप जितेको थियो। सैकियाले चाँड़ै सीनियर पुरुष र महिला खेलाड़ीहरूका सेण्ट्रल कण्ट्र्याक्टमाथि आधिकारिक बयान जारी गरिने पनि बताए। उनले युवा टीमलाई बधाई दिँदै भने, यो असाधारण उपलब्धि मजबूत खेलाड़ी विकास प्रणाली, प्रतिस्पर्धी घरेलु ढाँचा, असाधारण प्रशिक्षण र प्रतिभा पहिचानको प्रक्रियाको नतीजा हो। आयु वर्गको क्रिकेट हाम्रो प्राथमिकता रहेको छ अनि भविष्यको निम्ति हामी यसलाई अझ मजबूत बनाउनेछौं।









