कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा भएको मृत्युको सर्वोच्च अदालतको निगरानीमा छानबिन गर्न माग गरेकी छन्। उनले अन्य सबै अनुसन्धान निकायहरू पूर्ण रूपमा मिलीभगतमा परेको आरोप लगाएकी छन्।
बुधबार सिंगुर प्रस्थान गर्नुअघि कोलकातामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बनर्जीले विद्यमान संयन्त्रमार्फत सत्य बाहिर नआउने बताइन्। उनले भनिन्, “हामीलाई केवल सर्वोच्च अदालतमा मात्र भरोसा छ। बाँकी सबै निकायहरू पूर्ण रूपमा भ्रष्ट भइसकेका छन्।”
दिल्लीस्थित ‘भीएसआर भेन्चर्स’द्वारा सञ्चालित ‘लियरजेट ४६’ विमान बुधबार बिहान पुणे जिल्लाको बारामती क्षेत्रमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो। नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार, विमानमा चालक दलसहित पाँच जना सवार थिए र सबैको मृत्यु भएको छ।
मुख्यमन्त्री बनर्जीले अजित पवार आफ्नो काका शरद पवारको नेतृत्वमा रहेको राष्ट्रवादी कांग्रेस पार्टीमा पुनः फर्किने तयारीमा रहेको संकेत पनि गरिन्। हालैका गतिविधिहरूले त्यसतर्फ संकेत गरेको उनको भनाइ थियो।
उनले भनिन्, “आज बिहान अजित पवारको मृत्युको खबर सुनेर म स्तब्ध भएँ। यसले देखाउँछ कि देशमा राजनीतिक नेताहरू समेत सुरक्षित छैनन्। सत्तारूढ पक्षका मानिसहरू पनि सुरक्षित देखिँदैनन्।”
यसअघि बनर्जीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत शोक व्यक्त गर्दै अजित पवारको आकस्मिक निधनले आफू गहिरो दुःखमा परेको बताइन् र शरद पवारसहित परिवार तथा समर्थकहरूप्रति समवेदना प्रकट गरिन्।
यसैबीच, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले पनि घटनाको छानबिन आवश्यक रहेको बताएका छन्। संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेता तथा व्यवसायीहरू नियमित रूपमा विमान यात्रा गर्ने भएकाले यस्तो दुर्घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए।









