मुम्बई: मुम्बईमा आयोजित एक कार्यक्रममा सहभागी भएपछि राजकुमार राव अचानक चर्चाको केन्द्रमा आएका छन्। क्यामेराअगाडि उनको नयाँ रूप देखिएपछि सामाजिक सञ्जालमा तीव्र चर्चा सुरु भएको छ। टाउकोमा कपाल निकै कम, दाह्री–जुँगा र चस्मासहित उनको स्वरूप पहिलेभन्दा निकै फरक देखिएको छ। प्रश्न उठेको छ, के यो सामान्य परिवर्तन हो, वा आउँदो चलचित्रको भूमिकाका लागि गरिएको तयारी?
भाइरल भएको उक्त कार्यक्रमको एक भिडियोमा अभिनेता कालो सर्टमा सामान्य रूपमा उपस्थित देखिन्छन्। उनको छेउमा निर्देशक फराह खान तथा कास्टिङ निर्देशक मुकेश छाबरा पनि देखिएका छन्। तर चर्चाको केन्द्र भने राजकुमारको नयाँ अवतार नै बन्यो। भिडियो सार्वजनिक भएपछि केहीले यो विशेष पात्रका लागि गरिएको तयारी भएको बताएका छन् भने केहीले अचानक उनको कपाल झरेको हो कि भन्ने प्रश्न पनि उठाएका छन्। कसैले “चिन्नै सकिनँ” भनेर टिप्पणी गरेका छन् भने कसैले “यो पक्कै पनि विशेष तयारीको अंश हो” भनेका छन्।
यस विषयमा उठेको जिज्ञासाको अन्त्य भने स्वयं अभिनेताले गरेका छन्। उनले स्पष्ट पारेका छन् कि यो रूप भारतीय क्रिकेटका पूर्व कप्तान सौरभ गांगुली को जीवनकथामा आधारित चलचित्रका लागि हो। धेरै समयदेखि सौरभको भूमिकामा राजकुमारले अभिनय गर्ने चर्चा चलिरहेको थियो। अन्ततः अभिनेता स्वयंले नै उक्त समाचार पुष्टि गर्दै आफू मुख्य भूमिकामा देखिन लागेको बताएका छन्। उनले यो ठूलो जिम्मेवारी भएको र आफू केही नर्भस पनि रहेको बताए। साथै बंगाली उच्चारण आत्मसात गर्ने विषयमा आफू विश्वस्त रहेको पनि उल्लेख गरेका छन्।
यसअघि उनलाई चलचित्र मालिक मा ठूलो पर्दामा देखिएको थियो। त्यसपछि उनका आगामी परियोजनाबारे दर्शकमाझ उत्सुकता बढिरहेको थियो। नयाँ रूप सार्वजनिक भएसँगै त्यो उत्सुकता झनै बढेको छ। सौरभ गांगुलीको जीवनीमा आधारित चलचित्रलाई लिएर केही वर्षदेखि नै चर्चा चलिरहेको थियो। ‘महाराज’ को भूमिकाका लागि धेरै अभिनेताको नाम अगाडि आएको भए पनि अन्ततः राजकुमार राव नै चयन भएका हुन्। अब दर्शकहरू सौरभ गांगुलीको जीवनकथामा आधारित चलचित्र प्रदर्शनको प्रतीक्षामा छन् र राजकुमारलाई ‘महाराज’ को भूमिकामा हेर्न आतुर बनेका छन्।










