‘असमर्थ शहर’मा पूजाको ‘चस्मा’

00-1-A-Town

चस्मा’ कविताले चस्माको चित्र कोरेन। कोर्ने उद्देश्य पनि थिएन कविको। कविलाई त पूरै मान्छेकै चित्र कोर्नु थियो र कुशलतापूर्वक कोरेकी पनि छिन्। मान्छेको मात्रै होइन। मान्छेसमूहको। समाजको। सामाजिक मनस्तत्वको। मानवीय प्रवृत्तिको। चस्माको लेन्सबाट होइन आफ्नो अन्तर्दृष्टिले मानवीय प्रवृत्तिलाई हेर्दा जे देखिन्छ त्यसको मनोरम चित्र उतारेकी छन् बोगीनदी, लखिमपुर, असमकी कवि पूजा उपाध्यायले सफल रूपमा। उनको ‘असमर्थ शहर’ नाउँको कविता पुस्तकमा रहेको ‘चस्मा’ कवितामा फ्रेम र ग्लासले बनिएको चस्माको चित्र चित्रित भएको छैन, विवर्तन र मानवीय प्रवृत्तिको एउटा पाटो नै प्रतिबिम्बित भएको छ। कुनै पनि सशक्त कविका लागि त्यही नै स्वाभाविक हो।

वर्तमान असमको युवा पिँढीका नेपाली कविहरूमा पूजा उपाध्याय एउटा चर्चित नाउँ हो। नेपाली र असमिया दुवै भाषाकी सिद्धहस्त कवि पूजाको काव्यशैली र कलाकारितामा जड वस्तुहरू जीवन्त भएमध्ये चस्मा पनि जीवन्त भएर विचरण गरेको छ, अनुभूतिमार्फत मानव जीवनमा। एउटा बिम्बका रूपमा उभ्याइएको चस्माले तर दर्शनसमेत समेटेर धेरै कुराहरू प्रतिबिम्बित गरेको छ। भनौँ चस्माका काँधमा बन्दुक राखेर धेरै गोली पड्काएकी छिन् पूजाले। प्रत्येक गोलीले नै सहि टर्गेट हिट गर्नुका साथै पड्किएका आवाजहरू पाठकलाई ब्युँझाउन सक्षम छन्। परिस्थितिअनुसार मान्छेले आफूलाई ढाल्नुपर्ने वाध्यता हुन्छ मानसिकका साथै शारीरिक रूपमा पनि। यस्तै कुराको उठान गर्दै उनको ‘चस्मा’ कविता अरम्भ हुन्छ यसरी-

धमिलिँदै गएको जिन्दगीको अस्पष्टतामा

एक अँजुली उज्यालो भर्न

बेहोर्नु नै पर्दोरहेछ चस्मा

मैले

तपाईँले

अनि सबैले…

दृष्टिविकारले उब्जाएको अँध्यारोमा एक अँजुली उज्यालो भर्न चस्मा बेहोर्नु नै पर्ने वाध्यता हुँदोरहेछ। उता उस्तै जिन्दगी जब धमिलिँदै जान्छ, युगानुकुल र समयानुकूल एउटा अदृश्य चस्माले जिन्दगीलाई हेर्दै जटिलताहरूभित्र पनि जुन सकारात्मक पक्ष हुन्छ त्यसलाई सहर्ष अँगाल्नुपर्छ, त्यसमा रमाउन सक्नुपर्छ- यस्तो दर्शन बोकेका छन् उल्लेखित शब्दहरूले। थालनिका केही पङ्क्तिमा नै चस्मालाई फ्रेमबाट निकालेर ठुलो आयाम दिएकी छिन् कविले। 

तर फेरि चस्मालाई लगत्तै फ्रेमभित्र ल्याउँदै शिशुमनोविज्ञानलाई पारखी ढङ्गले अभिव्यक्त गरेकी छिन्-

बाल्यावस्थामा चस्मा लगाएको मानिस देखेर

चस्मा लगाउने रहर रोपेको थिएँ

ठुला र ज्ञानी मान्छेले मात्र 

चस्मा लगाउन पाउँछन् भन्ने ठानेको थिएँ

चस्माको आँखाबाट देखिने दुनियामा

आफूलाई पनि गाँसेको थिएँ

अनि यसैगरी

चस्माप्रति आसक्ति झाँगियो अनायास…

चस्माप्रतिको शिशुसुलभ आकर्षणको सुन्दर काव्यिक अभिव्यक्तिका लागि चस्मालाई फ्रेमभित्र हाल्नु आवश्यक थियो र पूजाले त्यसै गरिन्। तर कुनै पनि भावुक तर शक्तिशाली कविका भावनाहरू एउटा सानो फ्रेमभित्र अटाएर बस्न सक्तैनन्। पूजाका वक्तव्यहरू पनि अटाएनन्। गुट्मुटिएका भावहरूलाई आयाम दिनका लागि फेरि फ्रेमबाट निकालिन् चस्मालाई-

एकदिन समयले आफै

चस्मा चढाइदियो मेरा आँखामा

कतै आनन्दित हुन सकिनँ म

थाहा भयो

चस्मा लगाउन टुहुरो हुनुपर्दो रहेछ आँखा

आफ्नो स्वाभिमानलाई बन्धकी राखेर

पराधीन हुनुपर्दो रहेछ आँखा…

युगको परिवर्तनसँगै मान्छेले आफ्नो सहुलियत अथवा लाइफष्टाइलका लागि यान्त्रिकता अपनाउँदै गयो र बिस्तारै मानव जाति यन्त्रको अधीन हुँदै गयो। र त कविले भनिन्- ‘आफ्नो स्वाभिमानलाई बन्धकी राखेर पराधीन हुनुपर्दो रहेछ आँखा।’ मदत् लिने बानी परेपछि आफ्नो क्षमता हराउँछ अथवा बिर्सिन थाल्छ मान्छेले, जसरी चस्मा उपलब्ध भएपछि मान्छेले बिनाचस्मा प्रयासै गर्न छोड्छ। मानवीय प्रवृत्तिसम्मका कुरा गर्दै उपरोक्त हरफहरूले काव्यिक लयमा थोरैमै धेरै कुरा गरे। यसरी आफ्नो मोहभङ्गलाई सामाजिक बिम्ब बनाएपश्चात् व्यक्तिविशेषको भिन्न भिन्न मनपरी दृष्टिकोणलाई चस्माले बिम्बित गर्दै कवि लगत्तै भन्छिन्-

चस्मा भिरेपछि 

जताततै चस्मै चस्मा देख्न थालेँ म

प्रेमीका आँखामा चस्मा 

 डाक्टरका आँखामा चस्मा 

 पत्रकारका आँखामा पनि चस्मा

नेताका आँखामा थरिथरिका चस्मा  न्यायाधीशको आँखामा पनि छ एउटा कालो चस्मा

अरू के भनौँ

दफ्तरका फाइलहरूमासमेत छापछाप्ती छन् विविध चस्मा

अचेल 

मायोपिया र मेट्रोपियाले ग्रस्त 

दुर्बल आँखाहरूमा चस्माको शासन देख्दा 

छाती चस्कन्छ 

मेरो चस्माको माखेसाङ्लोमा 

स्वतन्त्रताको ज्वालामुखी अल्झिएर पछारिन्छ आँखैमा

चस्माको झ्यालखाना नाघ्न नपाएर  चुहिरहेका रापिला घाम र

चियाइरहेका ओसहरूले

अशक्त बनाउँछ मलाई

चस्मा मेरो लागि त्रासको प्रतीकमा रूपान्तरित भयो आज…

भिन्न भिन्न चरित्रका मान्छेको आ-आफ्नो अनुकूल हेराइमा मृदु कटाक्षले सामान्य विद्रोह पोख्तै कति कुशलतापूर्वक तर अनायासै काव्यिक लयमा कविका भावहरू व्यक्त भएका छन् उल्लेखित हरफहरूमा! ‘न्यायाधीशको आँखामा पनि छ एउटा कालो चस्मा’…  एउटा सिङ्गो कथा बन्न सक्ने विषय एउटै लाइनमा अँटाएकी छन् पारखी कविले। यसपछिका हरफहरूले त झन परिवर्तित मानवीय प्रवृत्तिको नै चिरफार गरेका छन्-

हुन त 

बाजे बराजुकै दिनदेखि धेरै आँखाले लगाइल्याएका हुन् चस्मा

हजुरबाले पढेको भानुभक्तको स्वर मात्रै थाहा छ

बाबुले चस्माबेगरै पढे गुणरत्नमाला

दिदीले फेसनकै लागि टाँसिदिइन् आँखामा एउटा रङ्गीम चस्मा

खै कहिलेदेखि चस्माले अधिकार जमायो हाम्रो परिवारमा

थाहै भएन

लेन्सको हृदय र फ्रेमको छाला लगाउने 

चस्माको बाहिर र भित्र

भिन्नाभिन्नै जीवन हुन्छ

बाहिर भएकाले रङ्गको फोहार देख्छ

 भित्र बसेकाले अँध्यारो निल्छ क्वाप्पै….

हो, चस्माको बाहिर र भित्र भिन्नाभिन्नै जीवन हुन्छ। फेरि- बाबुले चस्माबेगरै पढे रे गुणरत्नमाला। कत्ति कुरा भनेको छ य़ो एउटा मात्र पङ्क्तिले! उतिबेलाको सरल जीवनशैलीको अटुट स्वास्थ्य उपकरणबिनै समर्थ थियो आफ्नो पारदर्शिता दर्शाउन। अथवा पङ्क्तिले भनेको छ- उतिबेलाको दृष्टिकोण कृत्रिमताको आडमा कूटिल थिएन मुक्त थियो। सत्यान्वेषी थियो हेराइ। कहाँ त्यतिमात्र हो र – गुणरत्नमाला पनि एउटा प्रतीक मात्र हो। तात्पर्य हो- कुनै कृत्रिमताको आड नलिइकनै बाबुले सरल सत्यान्वेषी नजरले ज्ञानानुसन्धान गरे। कति गहिरो कुरा! 

फेरि कवि भन्छिन्–

समय समयमा

मेरो चस्माको पनि

अनुहार, आकृति, रङ्ग

 बदलिँदै गयो

आँखाका विद्रोहलाई दमन गर्दै

चस्माले आफ्नो शक्ति बढाउँदै गयो

 नयाँ चश्माको झुटो आश्वासनमा

म फुर्किँदै गएँ

झुक्किँदै गएँ

चस्मा फेरिँदै गए

दृष्टिको स्वतन्त्रता जति गुम्यो

उति उति चस्माको शक्ति बढ्न थाल्यो।

चस्मा लगाउने मात्र होइन चस्मा नलगाउने पनि चस्माको मायाजालमा अल्झिन्छन्

घरी घरी  चस्माकै आडमा

सजाउँछन्

लुकाउँछन्

जिन्दगी

चस्मा नभए केही चल्दैन यहाँ मेरो  

बिहान झुल्के घामदेखि

रातिको शीतल जूनसम्म

चस्माकै खाचो हुन्छ जहाँ तहाँ

धेरै मूल्यवान सम्पत्तिको बसियतमा पनि अटाउन नसक्ने

चस्मा बनिदिन्छ एक अमूल्य सम्पदा

 म मरेपछि… 

आँखाको पावर जति घट्दै जान्छ उति नै चस्माको पावर बढ्दै जान्छ। कति ठुलो दर्शन कति कलात्मक अन्दाजमा सजिलै पङ्क्तिहरूले बयान गरेका छन् काव्यिक लयमा! जब नेताहरूको सामु जनताले अधिक मात्रामा ज्यू-हजुरी गर्छ, जब कथित कमजोर बर्गले सबल बर्गसमक्ष घुँडा टेक्न थाल्छ अर्थात् एउटा पक्षले जब आत्मसमर्पण गर्न थाल्छ तब प्रतिपक्ष अझ प्रभावी बन्दै उनीहरूलाई पिरोल्छ। अथवा जब मान्छे उमेरले भन्दा पनि मनले बूढो हुन्छ अर्थात् मनको पावर घट्छ, बृद्धताले स्वतः आग्रासन गर्दछ। कवि पूजा उपाध्याय आफ्नो काव्यिक अभिव्यक्ति प्रतीकात्मक रूपमा राख्न सफल भएकी छिन्। 

कविताको अन्तिममा उनी लेख्छिन्-

हन,

यो समाजका आँखामा पनि

क्याटेरेक्ट रोग छाएछ कि के हो  

महँगा सपना मात्र सजाउन रुचाउँछ

 न्याय र सदाचारको बाटोलाई 

धमिलो देख्न थालेको छ।ससाना चिजहरू नियाल्न नसक्ने भएको

अवाञ्छित खाँचो बढ्दै छ चस्माको

महामारीझैँ फैलिँदैछन् चस्माहरू फैलिँदैछन् महामारीझैँ यत्रतत्र।….

समाजले नै जब यान्त्रिक चस्माले कुराहरू हेर्न थाल्छ त्यतिबेला कविहरू आत्तिनु स्वाभाविक नै हो। पूजा पनि आत्तिएकी छिन्। उनको कविहृदयको मथिङ्गल छचल्किएको छ समग्र कवितामै। अलङ्कारले परिपूर्ण कवितामा, तर कतै पनि उपमादिको जटिलता छैन। बिम्ब हुँदाहुँदै पनि त्यसको भारले भाराक्रान्त छैन कविता। तर कविताको प्रत्येक अन्तरा पढेपश्चात नै एकछिन पर्खिएर सोचेमात्र भावार्थ हृदयङ्गम गर्न सकिन्छ। शक्तिशाली कविको लक्षण पनि त्यही हो। यति सुन्दर कविता छँदाछँदै पनि तर पूजाले एकठाउँ पाठकलाई अल्मल्याएकी छिन्। ‘बाल्यावस्थामा चस्मा लगाएको मानिस देखेर’ – यस लाइनमा मानिसले बाल्यावस्थामै चस्मा लगाएको हो कि चस्मा लगाएको मानिस कविले आफ्नो बाल्यावस्थामै देखेको हो त्यसमा सामान्यतः झुक्किने सम्भावना रहन्छ, तर पारखी पाठकलाई यसको निहितार्थ अनुधावन गर्न कतै गाह्रो पर्दैन। समग्रमा भन्नुपर्दा पूजा उपाध्यायको ‘असमर्थ शहर’ पुस्तकमा रहेको ‘चस्मा’ कविता धेरै शास्त्रीयता बोकेको एउटा परिपूर्ण कविता हो।***

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *