कोलकाता: भारत–बङ्गलादेश सीमामा अवैध प्रवेश रोक्न रेल पुलिसद्वारा सञ्चालन गरिएको ‘अपरेशन रेल पुलिस’ अन्तर्गत ठूलो सफलता हासिल भएको छ।
पूर्वी रेलवेको सियालदह डिभिजनमा सञ्चालित विशेष चेकजाँच क्रममा, बनगाउँ रेलवे स्टेशनमा दुई महिलालाई संदेहको आधारमा पक्राउ गरिएको हो।
पक्राउ परेका मध्ये २० वर्षीया फहिमा बीबी बङ्गलादेशकी नागरिक भएको पुष्टि भएको छ। अर्की ५५ वर्षीया महिला कनिका बाला भने भारतीय नागरिक हुन्। प्रारम्भिक अनुसन्धानमा फहिमाले तीन दिनअघि कनिका बालाको सहयोगमा अवैध रूपमा सीमा पार गरेको स्वीकार गरेकी छन्।
दुवै महिला हावडा स्टेशन पुग्ने उद्देश्यले यात्रा गरिरहेका बेला पक्राउ परेका थिए। अहिले उनीहरूलाई थप कानुनी प्रक्रिया अघि बढाउन बनगाउँ सरकारी रेलवे पुलिस (जीआरपी) को जिम्मा लगाइएको छ।
अधिकारिहरूका अनुसार उनीहरूमाथि विदेशी ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ।