मानहानीमा राहुल गान्धीलाई दुई वर्ष जेल सजाय

Rahul-Gandhi-Surat-court.jpg

कोलकताः फौजदारी मानहानी अभियोगमा भारतका विपक्षी नेता राहुल गान्धीलाई एउटा स्थानीय अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ। गान्धीलाई गुजरात राज्यको एउटा अदालतले सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको उपनामलाई लिएर चुनावी र्‍यालीमा दिएको प्रतिक्रिया सन्दर्भमा दोषी ठहर गरेको हो। उनी तत्कालै जेल जाने छैनन्। उनलाई ३० दिनको लागि जमानत दिइएको छ र उनले उक्त आदेशविरुद्ध पुनरावेदन दर्ता गराउन सक्नेछन्। न्यायाधीशले आदेश सुनाउँदा कङ्ग्रेस पार्टीका सांसद गान्धी अदालतमा उपस्थित थिए। उनका वकिलले उपयुक्त कानुनी प्रक्रिया यो मुद्दाको सन्दर्भमा अवलम्बन नगरिएको बताएका छन्।

अदालतको निर्णयपछि के प्रतिक्रिया आएका छन्

भारतीय सञ्चारमाध्यमहरूका अनुसार चुनावी र्‍यालीमा सम्बोधन गर्ने क्रममा गान्धीले किन सबै चोरहरूको साझा थर ‘मोदी’ हुँदो रहेछ भन्ने प्रश्न गरेका थिए। त्यसबेला उनले फरार हिरा व्यापारी निरभ मोदी र भारतीय क्रिकेट प्रमुख ललित मोदीलाई सङ्केत गरेका थिए। उक्त मुद्दा सत्तारूढ भारतीय जनता पार्टीका एक जना सांसद पुर्नेश मोदीको उजुरीका आधारमा दायर भएको थियो। उनले गान्धीको टिप्पणीले पूरै मोदी समुदायलाई अपमान गरेको बताएका थिए। गान्धीका वकिलहरूले उचित कानुनी प्रक्रिया अवलम्बन नगरिएको जनाएका छन्। उनीहरूले गान्धीको भाषण प्रधानमन्त्री नरेन्द्र मोदीप्रति लक्षित रहेकाले उजुरीकर्ता पुर्नेश मोदी नभई प्रधानमन्त्री मोदी हुनु आवश्यक रहेको तर्क गरेका थिए। कङ्ग्रेस पार्टीले गान्धीले उक्त निर्णय विरुद्ध पुनरावेदन गर्ने जनाएको छ। उसले भनेको छ, “हामी लड्नेछौँ र जित्नेछौँ।” गान्धीले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया जनाएका छैनन्। तर एउटा ट्वीटमा उनले महात्मा गान्धीको उद्धरण उद्धृत गर्दै लेखेका छन्, “मेरो धर्म सत्य र अहिंसामा आधारित छ। सत्य मेरो भगवान् हो र अहिंसा त्यसलाई हासिल गर्ने विधि।”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *