[कृष्ण अष्टमी विशेष]   कृष्ण : जनजाति नायकदेखि देवता

0-Sri-Krishna

दिवाकर प्रधान

पुराणका देवताहरूमध्ये सबैभन्दा चर्चित र लोकप्रिय कृष्ण नै हुन्। बाह्रौँ शताब्दीपछि विदेशी आक्रमणकारीहरूको प्रभाव बढिरहेको अनि यता भक्ति आन्दोलन चलिरहेको बेला राम र कृष्णका कथा धेरै लेखिएका छन्। गाथाहरूले यिनलाई विभिन्न रूपमा वर्णन गरेका छन् – योद्धा, ग्रामीण जनजातिका बालभगवान्, उपदेशक, प्रेमप्रतीक र अरू के-के। एक-डेढ हजार वर्षभित्रका गाथा विकासले गाउँले जनजाति नायकदेखि यिनी बालकृष्ण, गोपीकृष्ण, सोह्र कलाधारी, वादक, नर्तक, रसरासप्रेमी, गौपालक, तार्किक, पाण्डवमित्र, द्वारकानिर्माता, योगयोगेश्वर, विष्णु अवतार, पूर्णब्रह्म सच्चिदानन्द बने।

यजुर्वेदमै एउटा काले कृष्णलाई इन्द्रले घोक्ऱ्याएर मारेको कथा छ। पछि भागवतमा इन्द्रले वर्षाइदिएको अतिवृष्टि कृष्णले आफ्नो एउटै कान्छी औँलीले गोवर्धन पर्वत उठाएर छेकिदिएको कथा छ। वैदिक देवता इन्द्र पुराणमा नगण्य बने अनि कृष्ण बने माननीय। प्रारम्भिककालका कृष्ण कथा हेर्दा कृष्ण यादवहरूको व्रष्णि जनजातिका नायक मात्र थिए। पछि सतवत्त जनजातिका मानिसहरूले पनि नायक मानेको पाइन्छ। ईसापूर्व छैटौँ शताब्दीमा रचिएको छान्दोग्य उपनिषद्-मा कृष्णलाई देवकीपुत्र ऋषि र उपदेशक उल्लेख गरिएको पाइन्छ। ईसापूर्व चौथो शताब्दीतिर लेखिएको पाणिनीको अष्टाध्यायीमा कृष्ण र व्रष्णि जनजातिको उल्लेख पाइन्छ। सिन्धु नदीतल्तिरका आभीर जनजातिका यौन स्वतन्त्रता यदुका अरू जनजातिमा पनि प्रभाव पर्नाले कृष्ण र अर्जुनका बहुपत्नी कथा बनिएको मानिन्छ। आभीर (अहीर) एउटा कुलिन जाति थियो। यादव वंश प्रमुख रूपले आभीर (वर्तमान अहीर), अन्धक, व्रष्णि तथा सत्वत नामक समुदायहरू मिलेर बनिएको थियो। कृष्णका पूर्वज र वंशज मानिन्छन्। आभीरहरूको वृत्य क्षत्रिय हो भन्दछन्। महाभारतमा पनि यिनीहरू युद्धप्रिय, घुमक्कड़, गोपाल अभीरहरूको उल्लेख पाइन्छ। व्रष्णिहरूका पूज्य कृष्ण पछि सबै यादवमा प्रिय बने।

मौर्य राजप्रासादका ग्रीक राजदूत मेगासथिनिसले आफ्नो ग्रन्थ इण्डिकामा मथुराका व्रष्णि जनजातिले कृष्णलाई कसरी पुज्दछन् भन्ने कुरा लेखेका छन्। त्यत्ति बेलै मगधका केही गाउँमा बुद्ध विचार मान्नेहरू पनि थिए। बुद्धलाई भगवान् बनाएको पहिलो शताब्दीदेखि महायान सम्प्रदाय उत्पन्न भएदेखि हो। विष्णु मान्ने वैष्णवहरू बढ्नथालेका पनि त्यत्ति बेलै हो। हिन्दू कर्मकाण्ड र बलिप्रथाको अतिवादले भारतीय विरक्तिरहेका थिए। विदेशी आक्रमणकारी हुण र कुषाणहरू बौद्ध बनेका र अशोकको धर्मविजय सफल भइरहेको अवस्था थियो।  त्यस अवस्थामा ब्राह्मणहरूले धर्म बचाउन नारायण र विष्णु एउटै हुन् भनी प्रचार गरे। पहिले नारायण र विष्णु बेग्लै थिए। महाभारतमा नारायण-विष्णु कथा थपे, गीताले कृष्णलाई मागर्निदेशक र उपदेशक सिद्ध गर्दै बुद्धले परिवर्तनशील मानेको आत्मालाई अमर भनी उल्लेख गऱ्यो। अन्धकार युगको बिचमा पुरोहितहरूले उता ईशुलाई पनि रोममा भगवान् बनाए। दशौँ शताब्दीदेखि बाइबल होली बाइबल भयो, कुराण कुरआन साहेब भयो, वेद अपौरुषेय भयो, गीता श्रीमद्भगवद्गीता भयो। यसरी उपास्य व्यक्ति र ग्रन्थहरू दैवीकरण गरिए।

बौद्ध र वैष्णव प्रभुत्व निरस्त गरी शैवमतको आधारमा हिन्दू पुनरुत्थान गर्न नवौँ शताब्दीदेखि शङ्कराचार्यले दशावतार परिकल्पना गरी परशुराम, राम, कृष्ण र बुद्धलाई विष्णुका अवतार भनी प्रचार गरे। यसरी वैष्णव र बौद्धलाई शैवमतमा ताने। बौद्धहरूलाई विश्वास दिलाउन शैवहरूले शिखा मात्र राखी कपालका केश खौरे। त्यस बेलासम्म हिन्दूले केश पाल्दथे तर बौद्धले खौरँदथे। हामी पनि तिमीहरूजस्तै खौरने नै हौँ भन्ने देखाई शैवहरूले बौद्धमार्गीहरूलाई फकाए। फकाउँदा पनि नमाने शङ्कराचार्यले शाङ्करी सेना लगाए। बौद्ध विहार शिव मन्दिर बनेका र स्तुपलाई लिङ्ग बनाइएका बेग्लै इतिहास छ।

एघारौँ शताब्दीदेखि मुसलमान राज बढ्नथाल्यो। संन्यासी र भिक्षु बनेका भारतीय युवाहरूले मुसलमान आक्रमण प्रतिकार गर्न सकेनन्। उदासिन जनतालाई सान्त्वना दिन पुरोहितहरूले भक्ति पुराण रचे भने कविहरूले राम र कृष्णलाई दु:खहर्ता सुखकर्ता बनाएर काव्य-कविता लेखे। विदेशी शासकहरूले भारतमा वर्ण र जातिभेद बढेको, जनता निरक्षर रहेको अनि भक्तिमा भुलेको चाहन्थे। पुरोहित र कविहरूले यसलाई प्रेरणा नदिई सकेनन्। यसरी वैदिक देवताहरूभन्दा पौराणिक देवता लोकप्रिय बन्दैगए। राम र कृष्णकथामा रहस्यकथा थपिएपछि जनताको रुचि अझ जाग्रत भयो। भगवान् माने अनि भक्ति गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *