नाम्चीमा मौरीपालन सचेतना तथा घार वितरण, किसानको आम्दानी बढाउने लक्ष्य

n7097174421776964058792ba7b627ff920a5cb305aa156afb6fc6c622a186814aa12435f7cc530ec7137db

नाम्ची: ​नाम्ची जिल्ला कृषि विभागले आर्थिक वर्ष २०२५-२६ को वर्षा आधारित क्षेत्र विकास कार्यक्रम (आरएडी) अन्तर्गत अप्पर दोङ क्लस्टरमा मौरीपालन सम्बन्धी एक दिने सचेतना तथा सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। ४० देन्चुङ जीपीयूकी पञ्चायत सभापति निम्कित लेप्चाको मुख्य आतिथ्यमा आयोजित उक्त कार्यक्रममा स्थानीय किसानहरूलाई आधुनिक मौरीपालनतर्फ आकर्षित गर्ने प्रयास गरिएको हो।
​कार्यक्रममा कृषि विकास अधिकृत अर्बिन माझीले आरएडी कार्यक्रमको महत्त्वमाथि प्रकाश पार्दै विभागले किसानका लागि ल्याएका विभिन्न योजनाहरूबारे जानकारी दिनुभयो। उहाँले सरकारी योजनाहरूको सही सदुपयोग गरेर कृषि क्षेत्रलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो। सोही अवसरमा मौरीपालनलाई प्रवर्द्धन गर्ने र किसानहरूको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यका साथ ८० जना छनोट भएका लाभार्थीहरूलाई वैज्ञानिक मौरीको घार (डुंढ़) वितरण गरिएको थियो।
​स्रोत व्यक्तिका रूपमा उपस्थित ओएसडी फुर्देन लेप्चाले मौरीपालनको बहुआयामिक फाइदा र आधुनिक प्रविधि अपनाएर कसरी दिगो कृषि विकास हासिल गर्न सकिन्छ भन्ने विषयमा प्राविधिक प्रशिक्षण दिनुभयो। उहाँले मौरीपालनले वातावरण संरक्षण र बालीनालीको परागसेचनमा समेत ठुलो मद्दत पुग्ने बताउँदै यसलाई व्यावसायिक रूपमा अघि बढाउन किसानहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि र कृषि विभागका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement