एसडीएफ अध्यक्ष पवन चामलिङले दिए नेपाली भाषा मान्यता दिवसेको शुभकामना

IMG-20230819-WA0321.jpg

गान्तोक: ३२औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टी अध्यक्ष पवन चामलिङले भारतभरि छरिएर बसेका सम्पूर्ण नेपालीभाषी जनसमुदायलाई शुभकामना व्यक्त गरेका छन्। उनले २० अगस्त १९९२ भारतको संसदले नेपाली भाषालाई संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गर्न ७१औँ संविधान संशीधन विधेयक, १९९२ लाई ध्वनिमतले लोकसभा अनि राज्यसभामा पारित गरेको दिन रहेको स्मरण गराएका छन्। यस ऐतिहासिक निर्णयसितै सम्पूर्ण भारतवासी नेपालीभाषीको शिर उच्च भएको छ भन्दै अध्यक्ष चामलिङले संसदको यस ऐतिहासिक निर्णयलाई भारतका राष्ट्रपतिले 31 अगस्तको दिन अनुमोदन गरेको उल्लेख गरेका छन्। उऩले नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गरिनुपर्छ भनेर सर्वप्रथम आवाज उठाउने हाम्रा युगद्रष्टा आनन्दसिंह थापा, वीरसिंह भण्डारी अनि नरेन्द्र सिंहले देखाएको मार्ग हामीले भुल्नु नहुने विचार व्यक्त गरेका छन्। सन् १९५६ मा देहरादूनबाट प्रकाशित ‘जाग्रत गोर्खा’ पत्रिकाका सम्पादक यी तीन भाषासेवीले नेपाली भाषालाई संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गर्नुपर्छ भन्दै भारतका राष्ट्रपति डा. राजेन्द्र प्रसादलाई पत्राचार गरेको जानकारी गराउँदै नेपाली भाषा आन्दोलनले देशभरि व्यापकता लिएर सन् १९९२ मा सिक्किमको नेतृत्वमा सफलता पाएको इतिहास हामीले भुल्नुहुँदैन भनी उल्लेख गरेका छन्। भाषा मान्यता आन्दोलनलाई सही नेतृत्व दिएर सफलता प्राप्त गराउन तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारी, सांसद दिलकुमारी भण्डारी तथा दार्जीलिङका वाम एवं गैर वामपन्थी सबै नेताहरूले पुऱ्याउनुभएको योगदान नेपाली भाषाको इतिहासमा सदाका लागि लेखिएको बताए। यस अवसरमा सम्पूर्ण नेपाली भाषी सङ्‌ग्रामीहरूप्रति कृतज्ञता प्रकट गर्दै चामलिङले आज नेपाली भाषाले मान्यता प्राप्त गरेको तीन दशक पूरा भइसकेको ठहर गरेका छन्। यस भाषाको विकास र समृद्धिका लागि हामीले ठोस पहल गर्न बाँकी नै छ भन्दै भारतका अन्य विकसित भाषाको तुलनामा हामीले अझ धेरै कार्य गर्न बाँकी नै रहेको बताए। नेपाली भाषा-साहित्यसित सम्बन्धित विद्वानजनलाई आग्रह गर्दै नेपाली भाषालाई प्रविधि मैत्री, रोजगारमुखी अनि समृद्ध बनाउने दिशामा पहल गरौं भनी अपील समेत गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement