Thursday, August 5, 2021
Home साप्ताहिक विशेष सरगमको समीरमा सुवासितस्वरकार- सङ्गीतकार पवन राई नामदुङ

सरगमको समीरमा सुवासितस्वरकार- सङ्गीतकार पवन राई नामदुङ

कालूसिंह रनपहेंली
सम्पर्क: ९४३४४१०६४६

सरगमको समीरमा सुगन्धित स्वरकार-सङ्गीतकार सँगसँगै साहित्य सिर्जनामा समेत सुपरिचित सुनामका स्रष्टा हुन् पवन राई नामदुङ। सङ्गीतप्रति असीम सम्मान प्रकट गर्ने पवन नामदुङको जन्म हरियाली चियागाछले बालासन र नेहुर खोलाको सङ्गीत सुन्दै पातका हातहरूले नृत्य गर्ने सुरम्य मुण्डाकोठी चियाबारी, सोनादा, दार्जीलिङमा माता हीरादेवी राई र पिता जगदीश राई नामदुङको कोखमा ३० अक्टोबर १९६३को दिन भएको थियो। गाउँकै पाठशालामा शिक्षाको कखरा पढ़न शुरू गरेका पवनले जीव विज्ञान साथै समाजशास्त्र अनि नृतत्व विज्ञानमा स्नातक, बीएड र स्नातकोत्तर अनि सङ्गीतअन्तर्गत गायनमा बी.म्यूज गरेका हुन्। चराको चिरबिर, भँवरा-मौरीको गुनगुन, खोलाको गीत सुन्दै अनि बादल र पुतलीका नृत्य हेर्दै हुर्केका पवनज्यूले सङ्गीततिर अग्रसर हुनेे प्रथम प्रेरणा आफ्ना आमा-बाबाबाट पाएका बताउँछन्। बाड़ुलीमा सम्झना बोलाएर ल्याएपछि उनका ती हिक्हिक्हरू शब्द बन्छन्, ‘सर्वप्रथम केटाकेटी स्वरमा सङ्गीतको कुनै ज्ञान नभए पनि मञ्च र दर्शकअघि पहिलोपल्ट गाएको गीत हो स्वर सम्राट नारायण गोपालको- लौ सुन म भन्छु मेरो राम कहानी…। पछि स्वर बढ़ेर मर्दाना स्वरमा गीत गाएर गाउँ घरको सङ्गीत पुरस्कार जितेको गीतचाहिँ हो ओमविक्रम विष्टको- नबनिदेऊ मेरो ओठको लाली…। स्वर सानो हुँदा किशोर कुमारको ‘उड़ली ऊ…’ ढाँचाका गीतहरू पनि गाउन सक्थें, स्वर परिवर्तन भएपछि त्यसो गर्न असमर्थ बनेर छोड़ें।’ आफ्नो विगतको साङ्गीतिक जीवनक्रमका पाइलाछापहरू सम्झनाको सिन्काले कोट्याउँदै उनी बताउँछन्, ‘सङ्गीत पनि पढ़ेको लेखेको जस्तै हो यसलाई गुरुबाट सिक्न पर्छ भनेर सिक्न गएको पहिलो गुरु हुन् सोनादाका सबैका बड़ा स्व. जे.सी. राई। तर पढ़ाइको कारणले दार्जीलिङ जान परेकोले केवल एक-दुइ अलङ्कार मात्रै उनीबाट सिक्न सकें। त्यसपछि १९८४ मा दार्जीलिङका ख्यातिप्राप्त स्व. कुमारी शेर्पाबाट केही अलङ्कार र दोस्रो वर्ष तहसम्मको एक-दुइ रागहरू पनि सिकें। त्यसै अवधिमा सोनादा इलाकाको फूलबारी गाउँका शास्त्रीय सङ्गीत साधक (कण्ठ) श्री कैलाश राईबाट पनि केही साधना र रागहरू सिक्ने मौका पाएँ। त्यसपछिको लामो अन्तरालभित्र कलेजमा विज्ञानको छात्र भएकोले पढ़ाइमा बेसी ध्यान दिनपर्ने बाध्यतासँगै आन्दोलनको चपेटले गर्दा सङ्गीतसितको नातादेखि टाढ़ो हुनुपर्यो। सन् १९८७ तिर सङ्गीतकार एकराज राईसित नेपालमा भेटघाट भएर एउटा जनचेतनामूलक टेलीफिल्ममा स्वराङ्कन गर्ने मौका पाएँ। सन् १९९२मा गीतिगुञ्ज सङ्गीत महाविद्यालय का प्राचार्य गुरुजी गोविन्दसिंह घतानीसित तालिम लिन थालेको थिएँ तर धजेबाट खरसाङ आउन गाड़ीको असुविधा भएकोले गुरुजी सूर्यकुमार रोयसित फकिरा गुरुजीको सङ्गीत विद्यालयमा तालिम लिएँ। सन् १९९३ देखि गुरुजी गोविन्दसिंह घतानीको सुझाउमा उहाँद्वारा नै विशेष रूपले तालिम लिनलाई दार्जीलिङबाट धजेनजिकै नागरी फार्ममा सर्ने आग्रह गर्नुभयो अनि मैले त्यसलाई शिरोपर गरें। नागरी फार्मको ‘सङ्गीत कला निकेतन’-का शिक्षक गुरुजी रमेश गुरूङबाट पनि विशेष सहयोग र पाठ लिएँ।’ यसरी सन् २०००मा नामदुङज्यूले गायनमा सङ्गीत विशारद (बी.म्यूज) गरे। हालमा पनि गोविन्दसिंह घतानीज्यू, वर्णाली बसु र कल कललत्ताका अनल च्याटर्जीबाट तालिम लिइरहेका बताउँछन्। उनी भन्छन्, ‘तबलामा गुरुजी विकाश सिंह लोहारबाट तालिमप्राप्त गरेको छु।’ उनलाई खूब याद छ त्यो पहिलो रेडियो रकर्डिङ,जो उनले १९८५सालमा आकाशवाणी खरसाङको युवावाणी कार्यक्रममा मुण्डाकोठीका साथीहरूसित गरेका थिए। पहिले गीत गाउँदा हौसला दिने मुण्डाकोठीका साथी-दाज्यू-भाइहरू उनी सम्झन्छन्- महाप्रसाद लामा, सञ्जय ओझा, प्रभू थापा, कर्ण वाहिङ राई, देवेन गजमेर, स्व. रसलिङ सेवा, बबिन सेवा, जोगेन दर्नाल, रणबहादुर राई, होमेन राई आदि। उसरी धजेका मित्रहरू ध्रुव चौहान, रूस्तम लेप्चा, सुवास गदाल, स्व. रणजीत सिरेल, स्व. नारायण कटुवाल, स्व. पञ्चवीर लेप्चा, पूरण तामङ, पास्टर मणि देवानहरूलाई उनी स्मरण गर्छन् । उनी भन्छन्, ‘उनीहरूले मेरो मनको गाग्रोमा सङ्गीत प्रेमको नाला जोड़िदिए अनि उत्साहको पानी भरिदिए। म त्यही पँधेराबाट गायन क्षेत्रका फाँटहरू खोज्दै बग्न चाहने इच्छाहरू बोकेर साङ्गीतिक जीवनका बाटाहरूमा हिँड़नलागें।’
सन् १९९१ देखि आकाशवाणीको अनुमोदित कलाकार अनि सन् २०१४ देखि आकाशवाणीबाट ‘बी हाइ’ ग्रेड प्राप्त गरेका पवन राई नामदुङ कलाका पुजारी हुन्। कलाबारे उनको सोच यस्तो छ, ‘कला जीवनको निम्ति हुनुपर्छ। जीवन छ र नै कलाको महत्व छ। कला छ र नै जीवनको महत्व छ। यी दुइ एक-अर्काका सम्पूरक हुन्।’
‘शास्त्रीय सङ्गीत सिक्न कतिको आवश्य छ?’ यो प्रश्नको निम्ति उनी उत्तरको माला शब्द थुँगाहरूले गुँथ्छन्,‘अघि नै भनियो सङ्गीतबिनाको कुनै जीव-जन्तु वा चराचर जगत नै हुँदैन। कतिजना कलाकारहरूमा ईश्वर प्रदत्त क्षमता हुन्छन् जसले सङ्गीतको औपचारि- क तालिम नलिइकन पनि सङ्गीत जगतमा धूम मचाउँ छन्। तर एकाधले मात्रै। शास्त्रीय सङ्गीत सन्दर्भमा यसो भन्न चाहन्छु- यसमा एउटा यस्तो विशेषता छ कि यो सङ्गीतको यस्तो आधारशिला हो, जसमा सङ्गीतका ठूला-ठूला भवन र अट्टालिका खड़ा हुन सक्तछ। उनी संसारको कुनै पनि सङ्गीतको विधालाई सहजसित ग्रहण गर्न र बुझ्न सक्छन्। त्यसबाहेक ईश्वर प्रदत्त सङ्गीत वरदानमात्र भएर हुँदैन, उसमा धैर्य, अहङ्का- ररहितता, नम्रता एवं इमान्दारिता चाहिन्छ, यी सबै एकैसाथ प्रदान गर्ने क्षमता शास्त्रीय सङ्गीतमा हुन्छ। किनकि सङ्गीत भनेको मनोरञ्जनमात्र होइन, यो एउटा शिक्षा वा पाठ नै हो।’
पवन राई नामदुङको नाम उच्चारण हुनेबित्तिकै हाम्रो आँखामा उनको शालीन छवि आउँछ अनि कानमा अनायासै गुञ्जिन आउँछ उनले गाएका सुमधुर गजलको झझल्को। कसरी ढल्किए त पवन गजल गायनतिर? बुझ्छौं उनीबाटै यसरी, ‘सन् १९८३ को कुरो हो मेरा एकजना शिक्षक साथै आफ्नो मान्छे हुनुहुन्छ कर्ण वाहिङ राई, हामी हाम्रो पूर्ख्यौली घर मुण्डाकोठी मा चेस-खेलाईमा भिड़िँदै थियौं। हाम्रो घरमा एउटा ठूलो रेडियो थियो। त्यस रेडियोमा मुकेशजस्तै नाके स्वरमा एउटा गीत बज्यो। हामी दुवैले छक्क परेर त्यो गीत सुन्दा एकछिन चेस खेल्न बिर्सियौं। गीत सकेपछि उनले भने “के मीठो गीत हौ! कसले गायो हौ?” त्यसपछि आमाले पनि उनै गायकको गीत सुनेर भन्नु भयो,‘मेरो छोराले पनि यस्तै गीत गाइदिनु नी!’ पछि थाहा लाग्यो त्यो गीतको विधालाई गजल भनिँदो रहेछ अनि गजल गायकको नाम रहेछ गुलाम अली। उनै गायकको गायनमा म लगायत मेरा तत्कालीन र समकालीन मित्रहरू सामूहिक रूपमा फ्यान भयौं। उनको गीत (गजल) गाउने कोशिष गर्दागर्दै गजल गायनतिर म पनि आकर्षित भएँ।’
आजकल हाम्रोतिर गजल लेखन निक्कै मौलाइरहेको अवस्था छ। यसबारे जानकारीका केही खुराक पवन नामदुङबाट, ‘गजल लेखन मेरो विधा नरहेकोले यस बारेमा कोही भन्न सक्तिनँ। तरै पनि गजल लेखनको ढाँचा हेरेर कुन तालमा वा लयमा सुर भर्दा ठीक हुन्छ, त्यो अनुमान लगाउन सकिन्छ। हालमा हाम्रो पहाड़मा पनि गजलका धुरन्धर गजलकारहरू जन्मिसकेका छन्। पढ़ने र मञ्चमा ठीक्क हुने तर सुर भर्न केही असुविधा हुने गजलहरू बेसी लेखिएका जस्तो लाग्छ। सुकोमल र गेयात्मक गजल कमै लेखिएको लाग्छ। गजल लेखन नभएर आफ्नो विधा गायनपट्टि केही कुरा राख्न चाहन्छु। गजल पनि वास्तवमा कविताकै जस्तो एउटा विधा हो। तर यसमा गजलकारहरूले केही नियममा बाँधिएर लेख्नुपर्छ। यसका ‘बहर’ वा छन्दहरूलाई याद गर्नुपर्ने हुन्छ। विशेष पहिचान ‘काफिया’, ‘रदिफ’-हरूका तालमेल साथै गायन पनि गजलमा विविध हुने गर्दो रहेछ। हामीले प्राय: अर्ध- शास्त्रीय सङ्गीतको प्रभाव र सङ्गति भएको गीतलाई गजल भन्ने गरेका छौं। तर गजल कवितालाई कसैले गीत प्रकारले कम्पोज गर्दा पनि त्यो वास्तवमा गजल नै रहेको हुन्छ जसलाई गजल गायकहरू, गजलका कम्पोजरहरू ‘गीतनुमा गजल’ भन्ने गर्छन्। गजलको विस्तृत इतिहासपट्टि नगएर भारतवर्षमा गजलको मलिका ‘अख्तरी बाई फैजावादी’ अथवा बेगम अख्तरलाई एउटा खिरिलो रेखा मान्दछन्। शहंशाह-ए-गजल मानिने एवं गजल फेरि लोकप्रिय बनाउने श्रेय भने उस्ताद मेहदी हसनलाई जाँदो रहेछ। उनले गजललाई अनुशासित ढङ्गमा रागमा ढालेर कम्पोज गर्ने र गाउने प्रथा शुरु गरे जसलाई हिजोआज पारम्परिक वा ‘रिबायती गजल’ भन्ने गरिन्छ। उनीहरूभन्दा केहीपछि तर एक धुरन्धर गजल गायक गुलाम अलीज्यूले भने कुनै गजल कम्पोज गर्दा रागलाई महत्त्व नदिएर गजलका शब्द, भावको ढाँचालाई हेरेर कम्पोज गर्न थालेका पाउँछौं साथै उहाँका गुरु बरकत अली खाँ गजल र ठुमरीका जादूगर भएकाले गजलमा ठुमरी अंशहरू हालेका पनि पाउँछौं। उनीहरू पटियाला घरानाका गायकहरू थिए, मेहदी हसनज्यू सेनिया घरानाका। शुद्ध हिन्दुस्तानी शास्त्रीय सङ्गीतलाई टिपेर गजल गाउने अर्का श्याम चौरासिया घरानाका गजल गायक अनुप जलोटा हुन्। उनमा पनि रिबायती गजलकै प्रभाव छ भने, यी सबैलाई समिश्रण गरेर आधुनिक वाद्यवृन्द र पाश्चात्य धुन एवं सामग्री प्रयोग गर्दै भारतीय शास्त्रीय सङ्गीतको पनि छटा भर्ने कलाकार हुन् जगजीत सिंहज्यू। उनले गजललाई जनसाधारण र देश विदेशमा उपलब्ध गराइदिए अनि सुपाच्य बनाइदिए। यी सबैका प्रभाव हाम्रो भाषाको सङ्गीत कम्पोजिसन र गायनमा पनि पर्न गए। हालमा जति पनि नयाँ पिँढ़ी गजल गायनतिर लागेका छन् उनीहरूमा उपर्युक्त तथ्यहरूको प्रभाव प्रत्यक्ष-परोक्ष रूपमा हामी परेकै पाउँछौं। तर सीधा-सीधा भाषामा भन्नपर्दा गजल गायनमा लाग्नेहरूले पहिले आफ्नो स्वर साधना गरेर लचिलो र कर्णप्रिय बनाउन अति आवश्यक छ जस्तो लाग्छ।’
पवन राई नमदुङले भजनहरू पनि गाएका छन्। ‘के भजनद्वारा हामी आत्मशान्ति पाउन सक्छौं?’ यस प्रश्नको उत्तरमा उनी बताउँछन्, ‘मलाई लाग्छ, ईश्वरा- नुभूति मानवलाई सर्वप्रथम सङ्गीतकै माध्यमबाट भएको हो। संसारको कुनै पनि धर्मसम्प्र- दायमा कुनै न कुनै रूपमा सङ्गीतको संलग्नता रहेकै हुन्छ। रहस्यद्रष्टाहरूका भनाइअनुसार मन चञ्चल छ र मनलाई शान्त बनाउन सके अवश्यै ईश्वरानुभूति हुन्छ। त्यसको अर्थ नै यो भयो कि भावपूर्ण, भक्तिपूर्ण, पूर्ण संलग्नताका साथ भक्तिरसद्वारा ओतप्रोत सगुण, निर्गुण भजनमा मनलाई शान्त पार्ने क्षमता अवश्यै रहेको हुन्छ।’
पवन नामदुङको व्यवहारमा जूनको शीतलता छ, वाणीमा घृतको कोमलता। उनी भद्रताका सागर हुन्। उनी छन् कोमल, विनम्र र मिलनसार। उनीभित्र समाहित छ कलाका अमूल्य मोतीहरू। उनी साँच्चै एक कलाकार हुन्। घमण्डका हावाहरूले उसलाई छुँदैन, क्रोधका विषालु सर्पहरूले उसलाई डस्दैन, रिसरागको रापले उनी जल्दैनन्। उनको स्वरको वीणामा माधुर्य झंकृत भइउठ्छ। उनी व्यवहारम शान्त पोखरी भएर ओठमा स्मित कमल हरदम फुलाइरह- न्छन्। उनलाई हेर्दा लाग्छ उनी मानव प्रेमको पोखरी- मा करूणा र विश्वास रोपेर शान्तिको पद्म फुलाउँछन्। उनलाई भेट्दा लाग्छ, हामी साक्षात शान्तिसित भेट गरिरहेका छौं। ‘अध्यात्मबारे यहाँले साहित्यमा पनि लेख्नुहुन्छ अनि भजन पनि गाउनुहुन्छ। आध्यात्मिकता हामीलाई किन चाहिन्छ?’ यो प्रश्नको निम्ति नामदुङज्यूको उत्तरको सुगन्धी धुप हाम्रो जिज्ञासाको नासिकालाई,‘सायद शास्त्रीय सङ्गीतका गायक-साधक अब्दुल करीम खाँज्यूले भन्नुभएको छ,‘अगर सच्चा सुर लग जाये तो खुदा मिल जायेगा।’ सङ्गीतका हामीजस्ता भर्खरको सिकारूले भनेको भए यसमा धेरै प्रश्न उठ्न सक्थ्यो। आफ्नो डल्लै जीवन सङ्गीतमा होमेका साधकले भनेपछि यसमा कतिको गुरुत्व छ त्यो हामी सहजै अनुमान लगाउन सक्छौं। सङ्गीत र अध्यात्मको खुबै नजीकको सम्बन्ध छ, यो त सबैले मानिलिन्छन्। मलाई आध्यात्मिकता हामीलाई चाहिने बाहिरी बस्तु नभएर प्रत्येक व्यक्तिमा निहित एउटा स्वभाव र स्वधर्म हो। पूजा, प्रार्थना, अर्चना, दानपुण्य आदि त केवल हाम्रा प्राथमिक र वाह्य सबैले देख्ने कार्य हुन्। अध्यात्म सबै मानवको अन्तस्थमा विराजित एक ईश्वरत्व वा परफेक्सन हो। जुन चीज पाएपछि प्रत्येक व्यक्तिले सर्वप्रथम आफैंले आफैंलाई धन्यवाद दिन्छन्। त्यसपछि मात्रै मानवको वास्तविक जीवन शुरु हुन्छ।’
गायक पवन नामदुङ मञ्चमा चढ़ेपछि श्रोता/दर्शकलाई मन्त्रमुग्ध पार्छन्। ‘गायनको जादू कसरी सिक्नुभयो?’ उनलाई सोधिएको यो प्रश्नमा उनी बग्छन् उत्तरको सलल नदी यसरी,‘यो प्रश्न सामान्य देखिए पनि जटिल प्रश्न हो। हेर्नुहोस, जुन गायक/गायिकाले आज श्रोता-दर्शकलाई मक्ख पार्छु, आज देखाइ दिन्छु भन्ने मनासय लिएर अहङ्कारपूर्ण ढङ्गमा मञ्चमा प्रवेश गर्छन्, त्यस समय श्रोता-दर्शकहरू मक्ख नपरेर उक्त गायक-गायिकसित वाक्क मान्छन्। महाकवि देवकोटाले भन्नु भएको छ, ‘सुन्दर बनाउने सचेत भावनाले कलालाई बिगार्छ।’ त्यसैले आज म गीतलाई प्रेमसित भावपूर्ण ढङ्गमा गाउँछु भनेर आफ्नो उपस्थिति, पहिचान र अहङ्कारलाई पर सारेर प्रस्तुत गरेको कुनै पनि कला सराहनीय हुन्छ। सङ्गीत साधनामा ठूल्ठूला साधकहरू भन्छन्, सङ्गीतको सुर हाम्रो ‘इमान’ हो बेसुरा भइयो भने ‘बेइमान’ होइन्छ। आध्यात्मिक भाषामा हो भने ‘सुर’ होश हो र बेसुर ‘बेहोशी’। अहङ्कार आउनेबित्तिक्कै बेहोश होइन्छ अर्थात बेसुरा होइन्छ। त्यसैले सुरप्रतिको सचेत होशले प्रस्तुति भएका छन् भने, त्यहाँ जुन जादू छाएको हुन्छ त्यो व्यक्तिगत नभएर अस्तित्वगत जादू हुनसक्छ, प्रस्तुतकर्ता को इमान्दारिता र साधनाको फलस्वरूप त्यहाँ सायद सफलता प्रस्फुटित भएको हुनसक्छ।’
पवन राई नामदुङज्यूले बताएअनुसार उनको नजीकका र मन पर्ने गीतकारहरू हुन्- ध्रुव चौहान, सुरेन्द्र थीङ, मिलन बान्तवा, दावा स्याङबो, कल्याण राई, एसेम चौहान, अर्जुन प्रधान, मदन ओझा, मोतीप्रसाद शर्मा, केसाङ लामा, सुकराज दियाली, जे.बी.रसाइली, नवीन सुब्बा आदि। गजल कम्पोजरहरूमा- गुरुजी गोविन्दसिंह घतानी, एम.बी. गजमेर र जीवन अधिकरी सित नजीकको सम्बन्ध। सङ्गीत साधनामा कतिपय गूढ़ रहस्य बताउनुहुने व्यक्ति र गुरुहरूमा विशेष गरी सधैँ दिग्दर्शन गर्नेहरूमा – स्व.प्रतापसिंह लोहार, कमल भण्डारी र स्व. गोपाल योञ्जन जसलाई कहिल्यै भुल्न नसक्ने कुरो बताउँछन् उनी। उनीसित युगल गीत गाउने कलाकारहरू- सुनिता गजमेर, नम्रता बल, रमला राई, हीरा रसाइली, भावना थापा, अलिना सुब्बा, बबिता प्रधान, विजया चौहान आदि। सङ्गीतकारहरूमा उनी आदरसित नाम लिन्छन् – गोपाल योञ्जन, शान्ति ठटाल, के.बी.राई, विनोद स्याङदेन, के.के.विश्वकर्मा, सुरेश कुमार, महेश्वर लामा, ध्रुव चौहान, सोनाम छिरिङ, मणि राई, डुप्छेन लामा, कर्ण राई वाहिङ, महाप्रसाद लामा, पूरण तामङ, विकाश घतानी आदि।
पवनज्यूले दिनुएका जानकारीअनुसार उनले स्वर भरेका गीति एल्बमहरू यस प्रकार छन्: ‘नवरङ्ग’ (१९९४), ‘भुल्न नसक्दा’ (एकल एल्बम) १९९९, ‘देवराली उठी बोलाउँछ’ (२००२), ‘सहयात्री’ (एकल एल्बम) २००३, ‘लक्ष्य’ (२००६), ‘सन्दर्भ’ (२००८), ‘साइलेन्स’ (२०१५), ‘हाम्रो निषाद’ (२०१५) आदि।
पवन राई नामदुङले विभिन्न स्थानका विभिन्न मञ्चहरूमा आफ्नो प्रस्तुति दिइसकेका छन् भने आकाशवाणी खरसाङ, आकाशवाणी गान्तोक अनि काठमाडौं र दार्जीलिङका विभिन्न स्टुडियोहरूमा आफ्नो गायन रेकर्ड गरिसकेका छन्। आकाशवाणीका कन्सर्ट र रूपकहरूमा पनि उनले आफ्नो गायिकीसित भाग लिइसकेका छन्।
पवन राई नामदुङ सङ्गीतसँगै साहित्य लेखनमा पनि उज्यालो नाम हो। साहित्यमा उनले गरेका काम र कृतिहरूबारे जानकारी यसरी पस्कन्छन् उनी, ‘मुण्डाकोठी पुर्ख्यौली गाउँमा हामीले सानैदेखि साहित्य र कलाको माहौल पाएका हौं। जानी-नजानी कविताहरू लेखिन्थे। लेखेपछि छपाउनु पनि पर्छ भनेर दिग्दर्शन गर्ने श्रद्धेय दाजु विशिष्ट साहित्यिक हस्ती श्री जीवन नामदुंग हुन्।’
पवन राई नामदुङका प्रकाशित साहित्यिक कृतिहरू – ‘चौतारो पक्षी-जून र बादलहरू’ (कविता सङ्ग्रह) १९८९, ‘फूलहरू मुनाहरू’ (कविता सङ्ग्रह सह लेखन) १९९०, ‘समयले पोलेका डामहरू’ (मुक्तक सङ्ग्रह) २००५, ‘तथाता’ (कविता सङ्ग्रह) २०१२, ‘सिमानाको रूख’ (कथा सङ्ग्रह) २०१५, नि:शब्द गाउँ (कथा सङ्ग्रह) २०१९, करूणामय पीड़ा (कविता सङ्ग्रह) २०२०। उनले विविध कृतिहरू र साहित्यिक पत्रिकाहरूको सम्पादन पनि गरेका छन् भने उनको कलम अनुवादको निम्ति पनि उचालिएको छ। विभिन्न सङ्घ संस्थानतिर आबद्ध रहेर उनले सामाजिक, सांस्कृतिक, साहित्यिक कार्यक्रमहरू गरेका छन्।
पवन राई नामदुङज्यूलाई सफलताहरूले धाप मारेका प्रमाणस्वरूप उनले पाएका पुरस्कारहरू : सिलगढ़ीबाट प्रकाशित विचारप्रधान पत्रिका ‘मध्यमार्ग’-मा शोधात्मक लेखहरूको निम्ति ‘विष्णुमाया थापा स्मृति पुरस्कार’ २०११, कथा सङ्ग्रह ‘सिमानाको रूख’-को निम्ति हिमाली विद्यार्थी सङ्गठन नोलडाँड़ा चियाबारीबाट ‘सरस्वती ज्ञानज्योति साहित्यिक पुरस्कार’ २०१५, नेपाली साहित्य अध्ययन समिति कालेबुङको मुखपत्र ‘साहित्य सङ्केत’-मा प्रकाशित कथा ‘खोजी’-को निम्ति ‘पूर्ण राई स्मृति पुरस्कार’ २०१५, सङ्गीतमा गो.दु.नि.स. दार्जीलिङबाट राजु राईको गायनमा ’सर्वश्रेष्ठ सुरकार’-को रूपमा पुरस्कृत २००८, साहित्यको निम्ति हिमाक्षरा राष्ट्रिय साहित्य परिषदद्वारा हिमाक्षरा गुण गौरव सम्मान (२०१८)आदि।
गायक पवन एक चित्रकार पनि हुन्। उनले कतिपय पुस्तकका आवरण-चित्रहरू बनाएका छन्। चित्रकलाबारे उनको शब्दचित्र, ‘संसार अनि मानव जगतको सबैभन्दा पुरानो भाषा र भावप्रकाशको अक्षर ‘चित्र’ हो भन्छन्। म आफैंले आफैंलाई चित्रकार मान्दिनँ। आफ्नै कतिपय साथीभाइ र अग्रजहरूको पुस्तकको आवरण बनाएकोचाहिँ पक्कै हो। कुनै शीर्षकले मनमा एक प्रकारको तरङ्ग ल्याउँछ, सो तरङ्गलाई चित्रको भाषामा भन्न खोज्दा चित्रहरू बनिँदा रहेछन्। अहिलेसम्म कतिवटा बनाएँ थाहा राखिनँ सायद १५-१६ वटाजस्तो बनाइसकें। वरिष्ठ एवं ख्यातिप्राप्त कथाकार स्व. धनवीर पुरीज्यूको कथा सङ्ग्रह ‘पैतालामुनिको जून’-को आवरण पनि बनाएको थिएँ।’
परिवारबारेे प्रश्नमा पवनज्यूको प्रत्युत्तर,‘परिवारमा म लगायत मेरी श्रीमती अलिना सुब्बा, छोरा शुभङ्कर अनि छोरी नेत्रिका छन्। मेरो साङ्गीतिक र साहित्यिक सिर्जना र संलग्नतामा परिवारको तर्फबाट प्रशस्त सहयोग र प्रेरणा मिलेको छ।’
जीवनको रमणीय स्मृति भनेको आफ्नो बँचाइको किताबमा स्वर्ण अक्षरले कुँदिएको सुनौलो अध्याय हो। यस्तै आनन्द फुलेको सम्झनाको एक सुन्दर पृष्ठ पल्टाउँछन् कृतज्ञ मुटुसित गायक पवन राई नामदुङ, ‘सन् १९९२को कुरो हो। म खरसाङ म्यूजिक अर्केष्ट्रासित सम्बन्धित थिएँ। यस सङ्गीत क्लबका नायक मित्रवर महेश्वर लामाज्यूको अगुवाइमा काठमाडौंतर्फ ‘नवरङ्ग’ नामक गीति एल्बमको रेकर्ड गर्न गयौं। स्टुडियो थियो हाम्रो सङ्गीतका ध्रुवतारा श्रद्धेय गोपाल योञ्जनको ‘गोपालय’। हामी त्यहाँ वास्तवमा हाम्रो एल्बमका गीतहरू रेकर्ड गर्न गएका थियौं। त्यसै समय एउटा नेपाली फिल्म ‘पहिलो प्रेम’-का गीतहरू पनि रेकर्ड हुँदै रहेछन्। सामूहिक गीतको कुनै एकजना लीड सिङ्गरको गायन गोपाल योञ्जनज्यूले मन पराउनु भएन रहेछ। उहाँलेे हामीलाई भन्नुभयो, ‘तिमीहरूको ग्रुपमा को गायक छ रेडी राख, भयो भने यो फिल्ममा गाउनुपर्छ।’ भाग्यवश त्यस झुण्डमा गायक ममात्र थिएँ। अन्य सबै साथीहरू थिए मात्रै वादकहरू। स्वर परीक्षामा जम्मा भएका चार गायकहरूलाई गोपाल योञ्जनज्यूले भिड़ाउनु भयो। अन्तमा मलाई चयन गर्दै उहाँले भन्नु भयो, ‘यो गीत पवनले गाउँछ, यिनको गलामा दाना बस्छ।’ बस् यति सुन्नु के थियो मेरो जीवनको सङ्गीत यात्रामा आफैं एउटा माइलखुट्टी स्थापित भयो। उनको आशीर्वादले भिजेका यी शब्दहरू मेरो निम्ति अविस्मरणीय क्षण र मेरो जीवन इतिहासमा कहिल्यै आनन्द नमेटिने पातो भएर हृदयमा रहिरहेको छ।’
पवन नामदुङभित्र समाहित छ सङ्गीतको सरगम, साहित्यको चन्दन वासना, चित्रकलाको सुगन्ध। पवन नामको नभमा सधैँ बाँचिरहेका छन् शीतल चन्द्रमाको शालीनता, सूर्यको ठूलो हृदयको उज्यालो र निष्कपट ताराहरूको टिमटिम। उनको मुटुकोे आकाशभरि मानव-प्रेमको शीतल शरदीय जून ढकमक्क फुल्छ। पवन हुन् कला संसारका सुगन्धी समीर।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

टोक्यो ओलम्पिकः विनेशको हारले भारतलाई झट्का

५ अगस्त २०२१: विश्वकी नम्बर एक भारतीय पहलवान विनेश फोगाट बिहीवार महिलाहरूकी फ्रीस्टाइल ५३ किग्रा वर्ग कुश्तीको क्वार्टर फाइनलमा बुल्गेरियाकी वेनेसा कलाडजिन्स्काया...

४१ सालको खड़ेरी समाप्त गरी ओलम्पिक हकीमा काँस्य पदक जित्यो भारतीय पुरुष टीमले

५ अगस्त २०२१: भारतीय पुरुष हकी टीमले जर्मनीलाई पराजित गरी टोक्यो ओलम्पिकमा काँस्य पदक जित्यो। यसरी भारतले १९८० पछि पहिलोपल्ट ओलम्पिकमा पदक...

क्रिकेटः इङ्ग्ल्याण्ड विरुद्ध भारतको असल शुरुवात

५ अगस्त २०२१: पेस बलरहरूका पराक्रमी प्रदर्शनको दममा इङ्ग्ल्याण्डको पहिलो इनिङ्ग्स १९३ रनमै समाप्त गरेपछि भार- तले पहिलो टेस्ट म्याचमा ठोस...

पश्चिम बङ्गालको पहिलो सम्पूर्ण रेसिडेन्सियल देबाञ्जन शेयर गर्ल्स एकाडमी कालेबुङमा

५ अगस्त २०२१: खेल र खेलाड़ीहरूलाई जमीनी स्तरबाट नै बलियो आधार प्रदान गर्दै आइरहेको कालेबुङको शेयर फूटबल क्लब यसपाली अझ एक कदम...

Recent Comments

Farindra on राेजगार