गेजिंग: देन्ताम पर्यटन महोत्सव २०२५ को तयारीलाई लिएर आज एक समन्वय बैठक बस्यो। ग्राम विकास कार्यालयको सम्मेलन कक्षमा सम्पन्न भएको बैठकको अध्यक्षता क्षेत्र विधायक सुदेशकुमार सुब्बाले गरेका थिए। सभाले महोत्सवको सफलता सुनिश्चित गर्न महत्वपूर्ण छलफल गर्दै जिम्मेवारीहरु सुम्पेको छ। महोत्सव आगामी २२, २३ र २४ मार्चमा आयोजन गरिनेछ। विधायक सुब्बाले महोत्सवलाई सफल पार्न सबैले महत्वपूर्ण जिम्मेवारी वहन गर्ने आह्वान गरे। सभामा गेजिङ जिल्लापाल तेन्जिङ डी. डेन्जोङपा, अतिरिक्त जिल्लापाल अधिकारी सुरत गुरुङ, देन्ताम महकुमा अधिकारी एनके कार्की, विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू, सामाजिक संघसंस्था, पर्यटन व्यवसायी, स्थानीय प्रशासन र राजनीतिक दलका प्रतिनिधिहरू उपस्थित थिए। महोत्सवको प्रमुख लक्ष्य क्षेत्रका सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यलाई उजागर गर्ने, स्थानीय पर्यटन प्रवर्द्धन गर्दै क्षेत्रीय अर्थतन्त्रलाई सशक्त बनाउने, समृद्ध परम्परा तथा जीवन्त संस्कृतिको प्रचार–प्रसार गर्ने रहेका छन्। महोत्सवका प्रमुख आकर्षणहरू सांस्कृतिक कार्यक्रम, नाटक प्रस्तुति तथा परम्परागत गहना प्रदर्शनी, साहसिक गतिविधिहरूमा ट्रेकिङ, प्याराग्लाइडिङ, जंगल सफारी आदि लरहेका छन्। यसका साथै स्थानीय विभिन्न जातीय खाद्य परिकार र हस्तकला प्रदर्शनी अर्को आकर्षण बन्ने जानकारी गराएको छ। सभाले महोत्सव व्यवस्थापनका विभिन्न पक्षमा छलफल गर्दै उपसमितिहरु गठन गरेको छ। स्थानीय बासिन्दा, व्यवसायी तथा पर्यटन क्षेत्रका सरोकारवालाहरूको सहकार्यमा महोत्सवलाई भव्य रूपमा सफल पार्ने प्रतिबद्धता व्यक्त गरिएको छ। देन्ताम पर्यटन महोत्सव २०२५ मा देश–विदेशका पर्यटकहरूलाई निम्तो गरिएको छ। देन्तामको सांस्कृतिक एवं प्राकृतिक धरोहरलाई प्रचार गर्ने लक्ष्य लिइएको छ। पर्यटन प्रवर्द्धनका लागि महोत्सव कोसेढुङ्गा प्रमाणित हुने विश्वास गरिएको छ।