दार्जिलिङ: लिङियाबाट घुम जाँदै गरेको एक निजी वाहन मेरिबोङ र ऋषिहाट फाटक बीचमा पर्ने बाँदरे भीरमा दुर्घटना भएको खबर प्रकाशमा आएको छ भने दुर्घटनामा परि एकजना गम्भीर घाइते बनेका छन्। घटनामा पर्ने वाहन चालक लिङ्गिया कोठीडाँडा निवासी रहेको चिन्हित गरिएको छ। घटनानुसार आज लगभग पाँच बजेतिर घुमतिर जाँदै गरेको उक्त निजी वाहन बिजनबारी दार्जिलिङ मार्गबाट लगभग ३०० मिटरभन्दा बेसी तल खाल्डोमा झरेपछि उक्त दु:खद घटना हुनपुगेको थाहा लागेको छ।

उक्त दुर्घटनामा परेका व्यक्तिलाई उद्दार गरी उपचारको निम्ति दार्जिलिङ सदर अस्पतालमा भर्ना गरिएको थाहा लागेको छ। घटनाको ठोस कारण हालसम्म थाहा नलागे भए पनि गाडीमा प्राविधिक कारण हुनसक्ने प्रारम्भिक अनुमान लगाइएको छ। अर्कोतिर घटनाको खबर सुन्नसाथ जोरबङ्लो थानाबाट खटिएका प्रशाशनिक अधिकारीहरु स्थलगत भ्रमण गरी आवश्यक छानबीनमा जुटेका छन्। यस घटनामा क्षेत्रीय सभासद सन्दिप छेत्रीले पनि घटनास्थलमा निरीक्षणको लागि पुगेका थिए भने दार्जिलिङ सदर अस्पताल पनि पुगेका थिए। यस घटना विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सभासद सन्दीप छेत्रीले बिजनबारी रोडको ऋषिहाट क्षेत्रमा एउटा वेगेनर गाड़ी दुर्घटनाग्रस्त भएको र उक्त घटनास्थलमा आफु पुगेको अनि दुर्घटनामा गम्भीर घाइते बनेका चालकलाई दार्जिलिङ सदर अस्पतालमा उपचारको लागि भर्ना गरिएको बताएका छन्।