ईंग्ल्याण्डविरुद्ध टी२० सीरीजको निम्ति घोषित टीममा मोहम्मद शमीको आगमन

IMG-20250112-WA0143

Loading

नयाँ दिल्ली: ईंग्ल्याण्डविरुद्ध २२ जनवरीदेखि शुरु हुन गइरहेको ५ वटा टी२० म्याचको सीरीजको निम्ति टीम इण्डियाको घोषणा गरियो। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले घोषणा गरेको भारतीय टीममा दिग्गज पेस बलर मोहम्मद शमीलाई स्थान दिइएको छ। शमी १४ महिनापछि भारतीय टीममा फर्किएका छन्। शमी भारतमा २०२३-मा भएको वनडे वर्ल्ड कपपछि भारतीय टीमबाट बाहिर रहेका छन्। वर्ल्ड कपको अवधि नै उनको खुट्टामा चोट लागेको थियो अनि उनले २०२४-को शुरुवातमा सर्जरी गराएका थिए। त्यसपछि उनले हालै घरेलु क्रिकेटमा खेल्न शुरु गरेका थिए। बीचमा बोर्डर-गावस्कर ट्रफी टेस्ट सीरीजको अवधि उनी अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किने खबर आएको थियो तर फिटनेस कारणहरूले गर्दा उनी अष्ट्रेलिया जान सकेनन्। अहिले शत प्रतिशत फिट रहेको हुनाले शमीलाई ईंग्ल्याण्डविरुद्ध टी२० सीरीजको निम्ति १५ सदस्यीय भारतीय टीममा स्थान दिइएको छ। यसबाहेक च्याम्पियन्स ट्रफीको ठीक अघि टीममा फर्किएको हुनाले चयनकर्ताहरूको नजर शमीको फर्म र फिटनेसमाथि रहनेछ। भारत र ईंग्ल्याण्डबीच ५ वटा टी२० म्याचको साथमा ३ वटा वनडे म्याचको सीरीज पनि खेलिनेछ, जसको निम्ति बीसीसीआई-ले टीमको घोषणा अहिलेसम्म गरेको छैन। शमीलाई अन्तिमपल्ट टी२० वर्ल्ड कप २०२२-मा यस प्रारूपमा खेलिरहेको देखिएको थियो। त्यसपछि उनले अन्तर्राष्ट्रिय स्तरमा कुनै टी२० म्याच खेलेका छैनन्। शमीको नाममा २३ वटा टी२०आई म्याचमा २४ विकेट रहेको छ।
ईंग्ल्याण्डविरुद्ध टी२० सीरीजमा सूर्यकुमार यादवले नै टीमको कप्तानी गर्नेछन्। अलराउण्डर अक्षर पटेल उपकप्तान हुनेछन्। यसबाहेक टीममा दुईजना विकेटकीपर ब्याटर सामेल गरिएको छ। यसमा सञ्जु सेमसन र ध्रुव जुरेल सामेल छन्। टीममा अधिकांश त्यही खेलाड़ीहरू नै रहेका छन्, जसले दक्षिण अफ्रिका यात्रामा भारतलाई सीरीज जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। जितेश शर्माको स्थानमा ध्रुव जुरेलको एण्ट्री भएको छ। अलराउण्डर नीतीश कुमार रेड्डीलाई पनि रमनदीप सिंहको स्थानमा टीममा सामेल गरिएको छ। युवा ब्याटरले हालै अष्ट्रेलियाविरुद्ध टेस्ट सीरीजमा असल प्रदर्शन गरेका थिए। यसबाहेक वाशिंगटन सुन्दर र हर्षित राणालाई पनि टी२० सीरीजको टीममा मौका दिइएको छ। यी दुवैले अष्ट्रेलियाविरुद्ध बोर्डर-गावस्कर ट्रफीमा खेलेका थिए। ईंंग्ल्याण्डविरुद्ध सीरीजको निम्ति टीममा शिवम दुबे र रियान परागलाई चाहिँ स्थान प्राप्त भएन। यसरी रिषभ पन्त र जसप्रीत बुमराहलाई आराम दिइएको छ। भारत र ईंग्ल्याण्डबीच पहिलो टी२० म्याच २२ जनवरीमा कलकत्ताको ईडन गार्डन्समा खेलिनेछ। त्यसपछि रहल म्याचहरू क्रमशः २५ जनवरी, २८ जनवरी, ३१ जनवरी र २ फरवरीमा खेलिनेछ।
ईंग्ल्याण्डविरुद्ध सीरीजको निम्ति भारतीय टी२० टीमः
सूर्यकुमार यादव (कप्तान), सञ्जु सेमसन (विकेटकीपर), अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, रिंकू सिंह, नितीश कुमार रेड्डी, अक्षर पटेल (उपकप्तान), हर्षित राणा, अर्शदीप सिंह, मोहम्मद शमी, वरुण चक्रवर्ती, रवि बिश्नोई, वाशिंगटन सुन्दर, ध्रुव जुरेल (विकेटकीपर)

About Author

Advertisement