बर्मिंघम: भारतका सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको भारतीय पुरुष युगल जोड़ी अल ईंग्ल्याण्ड ब्याडमिण्टन च्याम्पियनशीपको दोस्रो राउण्डमा पुग्यो। सात्विक-चिरागले डेनमार्कका डेनियल लुण्डगार्ड र मेड्स वेस्टेरगार्डको जोड़ीलाई सीधा गेममा पराजित गरे। गत महिना पिताको निधनपछि खेलमा फर्किने सात्विकले आफ्नो जोड़ीदार चिरागसँग मिलेर प्रभावशाली प्रदर्शन गर्दै ४० मिनटसम्म चलेको म्याचमा २१-१७, २१-१५-ले जीत हासिल गरे। एशियन गेम्सको च्याम्पियन सातौं वरीयता प्राप्त भारतीय जोड़ीले प्री-क्वार्टर फाइनल राउण्डमा चीनका हाओ नान जेई र वेई हान झेंगको जोड़ीविरुद्ध खेल्नेछ। दिनका अन्य म्याचहरूमा लक्ष्य सेनको सामना पुरुष एकल वर्गमा इण्डोनेशियाका जोनाथन क्रिस्टीसँग हुनेछ जबकि मालविका बन्सोड़ले जापानकी तेस्रो वरीयता प्राप्त तथा दुईपल्टकी वर्ल्ड च्याम्पियन अकाने यामागुचीको चुनौती स्वीकार्नेछिन्। मालविकाले यसअघि पहिलो राउण्डको म्याचमा सिंगापुरकी यिओ जिया मिनलाई पराजित गरेकी थिइन्।
यसअघि महिला एकलमा भारतलाई शुरुवाती दिन नै ठूलो धक्का लाग्यो अनि दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धू पहिलो राउण्डमै हारेर बाहिर भइन्। पहिलो राउण्डमा सिन्धूको भिड़न्त कोरियाकी किम गा युनसँग भएको थियो। म्याचमा भारतीय खेलाड़ीले विश्वकी २१औं नम्बरकी खेलाड़ी किमविरुद्ध २१-१९, १३-२१, १३-२१-ले हारको सामना गर्नु पऱ्यो। म्याचको पहिलो गेम जिते पनि सिन्धूले फर्मलाई कायम राख्न सकिनन्। त्यसपछि लगातार दुईवटा गेममा पराजित हुँदा २९ वर्षीय सिन्धूको अभियान समाप्त भयो।