भारतीय नेपाली इसाई अगुवाहरूको जीवनी ‘हाम्रा पथ प्रदर्शकहरू’ लोकार्पित

IMG-20230527-WA0271.jpg

यो पुस्तक महत्वपूर्ण दस्तावेज बनेको छ: मन्त्री एलएन शर्मा

सिलगढी: भारतीय नेपाली भाषी इसाई मण्डलीका अगुवाहरूका जीवनी समावेस गरिएको पुस्तक ‘हाम्रा पथ प्रदर्शकहरू’ आज सिलगढीको गाँधानगरस्थित अनुग्रह महिमा चर्चमा लोकार्पण गरिएको छ। १२३ जना भारतीय नेपाली भाषी इसाई मण्डलीका अगुवाहरूका जीवनी समावेस गरिएको उक्त पुस्तकको लोकार्पण समारोहको अध्यक्षता वरिष्ठ पास्टर रेभरेन्ट पीएस तिङ्बोले गरेका थिए भने प्रमुख अतिथिको रुपमा सिक्किम सरकारको कृषि बागवानी मन्त्री एलएन शर्मा अनि विशिष्ट अतिथिको रूपमा सिक्किमका मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङ राई उपस्थित रहेका थिए। पास्टर स्टेफन राईको मुख्य संयोजकत्वमा मुहान प्रकाशनद्वारा प्रकाशित उक्त पुस्तकको सम्पादक टोलीमा प्राध्यापक मेहेरमान पिटर सुब्बा, किशोर त्रिखत्री र तरूण थुलुङ राई रहेका छन्। उक्त लोकार्पण कार्यक्रमलाई पास्टर जेनेट खालिङले सञ्चालन गरेकी थिइन् भने हाम्रा पथ प्रदर्शकहरू नामक पुस्तक प्रकाशन विषयमा कार्यकारी सम्पादक एंव मुहान प्रकाशनको प्रमुख पास्टर स्टेफन राईले वक्तव्य राखेका थिए। पास्टर रेभरेन्ट सुदान तिङ्बोको शुरुको प्रार्थनाद्वारा थालिएको कार्यक्रममा पुस्तकको भाषा प्रयोगबारेमा प्राध्यापक मेहेरमान पिटर सुब्बाले वक्तव्य राखेका थिए भने यस पुस्तक एक दस्तावेजको रूपमा रहेको विषयमा वरिष्ठ साहित्यकार एंव वरिष्ठ पास्टर सलोन कार्थकले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, वरिष्ठ पास्टरहरू र अन्यहरूका बाहुलीबाट भारतीय नेपाली इसाई अगुवाहरूको जीवनी ‘हाम्रा पथ प्रदर्शकहरू’ लोकार्पण गरिएको छ। कार्यक्रममा हाम्रा पथ प्रदर्शकहरू पुस्तकको सम्पादकहरूलाई प्रमुख अतिथिको बाहुलीबाट सम्मान पनि जनाइएको थियो भने पुस्तकमा रचना प्रदान गर्ने सबै लेखकहरूलाई पनि खदार्पण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित सिक्किम सरकारको कृषि अनि बागवानी मन्त्री एलएन शर्माले लेखेर राखेको कुरा दस्तावेज बन्छ अनि हामी बितेर गए पनि हामीले गरेको काम यसरी लिखित रूपमा राखेको खण्डमा दस्तावेज बनेर पछिसम्म रहन्छ भनी बताएका छन्। उनले भने, ‘म सेवकाई छोडेर राजनीति गरिरहेछु भन्ने धेरैले सोचेका छन् होला तर हामीलाई सरकार चाहिने रैछ अनि अहिले हामी सरकारमा छौं। हामी पनि विभिन्न क्षेत्रहरूमा हुन आवश्यक छ। आज म तपाईहरूका आशिर्वाद र आशिष लिन आएको छु।’
मन्त्री एलएन शर्माले अघि भने, यो पुस्तक एउटा राम्रो दस्तावेज बनेको छ। यो पुस्तकमा ठूलो सुसमाचार छ अनि यो पुस्तक सुसमाचारको केन्द्र पनि बन्नसक्छ।’
कार्यक्रममा उपस्थित विशिष्ट अतिथि सिक्किमका मुख्यमन्त्रीका राजनैतिक सचिव जेकब खालिङले आफ्नो सम्बोधनमा यो पुस्तकले हामी सबैलाई आशिष दिने विश्वास छ भनी बताउँदै ख्रीष्टीय साहित्यमा प्रयोग हुने भाषा आम जन जीवनले बुझ्ने सजिलो भाषा बन्न सकोस् ताकि साधारणभन्दा साधारणले पनि बुझेर सुसमाचार पाउन सकोस् भनी बताएका छन्। उनले आज लोकार्पण गरिएको ईसाई मण्डलीका अगुवाहरूका जीवनी समावेस गरिएको पुस्तक हाम्रा पथ प्रदर्शकहरू दोस्रो संस्करण पनि प्रकाशित हुने आशा व्यक्त गरेका छन्।

कार्यक्रममा सभाध्यक्ष वरिष्ठ पास्टर रेभरेन्ट पीएस तिङ्बोले वक्तव्य राख्दै यस पुस्तकको दोस्रो संस्करणमा दिदी बहिनीहरूले गरेको सेवाकाईको पनि समावेस गरियोस् भनी सुझाव राखेका थिए। उनले यो पुस्तक ऐतिहासिक दस्तावेज भएको बताउँदै यसमा मण्डली र अगुवाको इतिहास लेखिएको बताए। उनले यो पुस्तक हाम्रो पुरानो समयको पिता पुर्खाले गरेको कामको सम्झना गर्दै उनीहरूप्रति धन्यवादस्वरुप लेखिएको बताए। कार्यक्रममा भारतका विभिन्न क्षेत्रहरू लगायत नेपाल, भूटानका इसाई लेखक र अगुवाहरू उपस्थित रहेका थिए। कार्यक्रममा सिक्किमका पास्टर आईजक छेत्री र रिता लेप्चाले गीत प्रस्तुत गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *