‘हुक्काः एन एब्सर्ड ड्रिम’का सन्तोषकुमार आत्रेय

00-1-Santosh-Kumar-Atreya-3

काठमाडौं: फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आगामी २६ मईबाट प्रदर्शनमा आउँदैछ। यो फिल्ममा सन्तोषकुमार आत्रेयको प्रमुख भूमिकामा अभिनय छ। फिल्ममा उनकै लेखन छ। उनले फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को कथाको शुरुवातका बारेमा विस्तृत कुरा खुलाएका छन्। ‘धौली’को निर्माण र प्रदर्शनको लामो समयपछि निर्माता सन्तोषकुमार आत्रेय काठमाडौंमा अर्को फिल्म ‘बालै फरर’को प्री–प्रोडक्सनमा व्यस्त थिए। फिल्म सुटिङमा जान तयार भइरहँदा उनले एकदिन कान्तिपुर दैनिकमा एक ४० वर्षे उद्योगपति र समाजसेवीको समवेदना विज्ञापन देखे।
त्यो विज्ञापनले उनलाई यसरी ‘क्लिक’ गर्यो कि उनले एक महिनासम्म उनले त्यो कुरालाई दिमागमा राखे। ‘समवेदना नदेखेको भए फिल्म बन्दैन थियो। ती उद्योगी र समाजसेवीको निधनपछि परिवारमा के भएको होला, परिवारको अवस्था कस्तो छ। यस्तै घटना अन्य परिवार तथा व्यक्तिमा कति परेको होला भन्ने विषयले मलाई छोइरहयो, अनि कथा लेखें’, सन्तोष भन्छन्। समवेदनाको कुरा उनले निर्देशक परिच्छेद सेन, निर्माता रविन्द्रसिंह बानियाँ, निर्माता प्रचण्डमान श्रेष्ठलाई सुनाए। सबैबाट फिल्म बनाउनका लागि प्रोत्साहन पाइरहँदा प्री–प्रोडक्सनमा रहेको फिल्म ‘बालै फरर’को काम रोकियो। फिल्मको काम रोकिएपछि सन्तोष पोखरा आए।
सन्तोषले एक महिनासम्म कथा लेखेनन्, उनले त्यो कथा सम्झिएर हिँडिरहे। उनले त्यसलाई कतै टिपेनन्। उनी पोखरा आएपछि मात्र ड्राफ्ट तयार पार्न लागे। उनलाई फिल्मको पहिलो र दोस्रो ड्राफ्ट ३ महिनामा र फाइनल ड्राफ्ट ५ महिनाको समय लाग्यो। ‘पोखरा आएपछि मैले शम्भु थापालाई फिल्मको पहिलो ड्राफट सुनाएँ। त्यसपछि नेत्र गुरुङ, शम्भु थापा र म बस्यौं। सातौं ड्राफ्ट बनाएपछि नीर शाह र तेज गिरीलाई दियौं। उहाँहरुले पनि राम्रो सुझाव दिनु भएपछि हामी फिल्म बनाउने निश्कर्षमा पुग्यौं’, सन्तोष सम्झन्छन्। सन्तोष फिल्मका केही दृश्य समाजका वास्तविक दृश्य रहेको दाबी गर्छन्। ‘श्रीमान विदेश गएपछि श्रीमतिले भोग्ने पीडा हामीले समाजमा फरक रुपमा देखेका छौं। त्यही फरकपनको केही पाटो यो फिल्ममा छ’सन्तोष भन्छन्।
उनको बुझाईमा फिल्मले पढेलेखेका व्यक्तिहरुले नै समाजलाई बुझ्न नसकेको कथालाई पनि छोएको छ। ‘उनीहरुले समाजलाई अत्यन्त सतही र समाजको आर्थिक व्यवस्थालाई पनि निरिक्षण गर्छन्। श्रमिकहरुले पैसाको महत्वलाई बुझ्दैनन्। यी कुरालाई पनि फिल्ममा उठान गरिएको छ’, सन्तोषको बुझाई छ। फिल्ममा सन्तोषले नै अभिनय गरेका छन्। उनले स्क्रिप्ट लेखिरहँदा त्यो चरित्रमा आफूले नै अभिनय गर्छु भन्ने सोचेका थिएनन्। अवस्था त्यस्तै बन्यो। उनले आफूले चिनेको एक कलाकारलाई पनि प्रस्ताव नगरेका होइनन्। तर फिल्मकै सदस्यहरुले सन्तोषलाई नै हौसला दिएपछि उनी पछि परेनन्। सन्तोषले २०५२ सालमा हाल दिवंगत निर्देशक प्रताप सुब्बाबाट अभिनय सिकेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *